रेडक्रसद्वारा सञ्चालित परियोजनाको समीक्षा

११ पुस, रोल्पा । नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा रोल्पामार्फत् सञ्चालित ‘स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजना’को वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको पुतलाचौरमा आयोजित समीक्षा कार्यक्रममा परियोजनाले गरेका कामको प्रस्तुती र समीक्षा गरिएको थियो ।

स्वीस रेडक्रसको आर्थिक सहयोग रहेको परियोजनाले परिवर्तन गाउँपालिकामा सन् २०२० को हालसम्म २ करोड ३ लाख ६७ हजार ५८ रुपैयाँ खर्च गरेको रेडक्रस रोल्पाका सभापति डी.बी. घर्तीमगरले जानकारी दिए। परियोजनाको समयावधि अझै साढे पाँच महिना रहेको र लक्षित कामहरु समेत पूरा हुने प्रक्रियामा रहेकाले लगानी अझै बढ्नसक्ने उनले बताए ।

समीक्षा कार्यक्रममा कार्यप्रगतिका बारेमा प्रस्तुती गर्दै नेपाल रेडक्रस सोसाइटी रोल्पाका कार्यक्रम संयोजक लक्ष्मण स्वर्णकारले गाउँपालिका र स्थानीय उपभोक्तासँगको सहज सहकार्यले योजना सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताए  । परिवर्तन गाउँपालिकाका ६ वडाका ४५ वटा आमा समूहमार्फत् स्वास्थ्य र सरसफाईका क्षेत्रमा काम गरिरहेको उनले जनाए । रेडक्रसको काममा गाउँपालिकाले करिब ७० लाखको साझेदारी गरेको बताइएको छ ।

समीक्षा कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले गाउँपालिकाले गर्नै नसक्ने ठूला योजनासमेत रेडक्रसले सम्भव तुल्याइदिएको भन्दै प्रशंसा गरे । ‘रेडक्रसले नगरेको भए करोड वरिपरिका खानेपानी योजनाहरु निर्माणका कुरा हाम्रा लागि असम्भव जस्तै थिए’ अध्यक्ष डाँगीले भने, ‘रेडक्रसको काम गाउँपालिकाका लागि ‘के खोज्छस् कानो, आँखा’ भनेजस्तै भएको छ । हामीसँग काम गर्नसक्ने अवस्थै नभएका बेला रेडक्रसजस्तो संस्था पाउँदा हामी अत्यन्तै खुसी भएका छौं ।’

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढाले रेडक्रसले जनतामा सकारात्मक छाप छोडेको भन्दै परियोजनाको निरन्तरताका लागि आग्रह गरिन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले रेडक्रसको कार्यक्रमले धेरै प्रतिफल दिएको चर्चा गरे।

समीक्षा कार्यक्रममा ६ वटै वडाअध्यक्षहरु क्रमशः बमबहादुर पुन, हरिप्रसाद घर्तीमगर, झपिराम डाँगी, दलबहादुर बुढा, सुकबहादुर बुढा र भानसिंह बुढाले छलफलमा भाग लिएका थिए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमाराका सभापति प्रवेशप्रसाद बुढा लगायत गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी एवम् सरोकारवालाहरुको उपस्थिति रहेको थियो । रेडक्रस रोल्पाका सभापति डी.बी. घर्तीमगरको अध्यक्षतामा आयोजित समीक्षा कार्यक्रममा उपसभापति टीकाकुमारी बुढाले स्वागत गरेकी थिइन् भने कोषाध्यक्ष भिमबहादुर बुढाले सञ्चालन गरेका थिए। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजना रहेको कार्यक्रमका लागि स्वीस रेडक्रसको आर्थिक सहयोग र परिवर्तन गाउँपालिकाले समन्वय गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस