संसद विघटनविरुद्ध नेपाली कांग्रेस राेल्पाद्वारा विराेध प्रदर्शन

पुस १३, रोल्पा । नेपाली कांग्रेस रोल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान विघटनको कदम असंवैधानिक भएको भन्दै विरोध गरेको छ । सोमबार लिबाङमा विरोध कार्यक्रमको आयोजना गरी कांग्रेसले भन्दै आएको कम्युनिष्ट सर्वसत्तावाद अहिले प्रष्ट भएको दाबी ग¥यो ।

विरोधसभामा बोल्दै पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले संविधानमै नभएको कदम केपी ओलीले चालेको भन्दै संविधान र लोकतन्त्रका पक्षमा नेपाली कांग्रेस सधै संघर्ष गर्ने  बताएका छन् ।

नेकपा नेताहरुबीच हिसाबकिताब नमिल्दा देशलाई बर्बादीतिर ढकेलेको भन्दै उनले कांग्रेसले मात्र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने बताए । उनले सर्वोच्चले निर्वाचनका लागि फैसला गरे पनि नेपाली कांग्रेस सहर्ष निर्वाचनमा जाने बताए ।

रोल्पाली जनताले नेतृत्वको राम्रोसँग हिसाब गर्ने दाबी गर्दै सभापति पुनले अब चिल्ला कुराले रोल्पाली जनता नभूल्ने दाबी गरे ।

आगामी वैशाख या अबको दुईवर्षमा निर्वाचन हुने भएकाले सबै नेता कार्यकर्ता एकतावद्ध भएर निर्वाचनको तयारीमा लाग्नुपर्ने नेपाली कांग्रेस रोल्पाका संस्थापक सभापति एवम् पूर्व राज्यमन्त्री सुरेन्द्र हमालले बताए । अरु दल वा पार्टीका लागि भन्दा पनि नेपाली कांग्रेसकै संस्थागत विकासका लागि लाग्नुपर्नेमा जोड गरे ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पूर्वसभापति माधव आचार्य, निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, अधिवक्ता जितविक्रम मल्ल लगायतले बाेलेका थिए । वक्ताहरुले संविधान र नियमसँगत हुने कुनै पनि निर्वाचनमा कांग्रेस अग्रसर हुने बताएका थिए । विरोधसभाको नेपाली कांग्रेस रोल्पाका प्रवक्ता कविता उपाध्यायले सञ्चालन गरेकी थिइन्।

प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस