८ वैशाख, राेल्पा । सामान्यतया एम्बुलेन्सले बिरामी बोक्छ।

अत्ति भए आकस्मिक अवस्थामा स्वास्थ्य सामाग्री बोकेको पाइन्छ। तर, रोल्पामा एम्बुलेन्सको दुरुपयोग भएको छ। बिरामी बोक्ने एम्बुलेन्सले जनप्रतिनिधिका मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न प्रयोग भइरहेको छ।

गंगादेव गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सले विभिन्न सामाग्री बोकेको तस्विर सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षको व्यापक आलोचना शुरु भएको छ।

एम्बुलेन्सले बिरामीको सट्टा मिलका चक्का, नुनका बोरा र अन्य निजी सामाग्री बोकेको तस्विर गंगादेवका युवाहरूले सामाजिक सञ्जालमा भाइरल बनाएका हुन्। विगतदेखि नै एम्बुलेन्सले बिरामी बोक्न छाडेर यस्तै सामाग्री ओसार-पसार गर्ने गरेको उनीहरूको दाबी छ।

एम्बुलेन्सले बिरामी बोक्नुको सट्टा निजी स्वार्थ र आम्दानीको लागि अन्य सामाग्रीहरू बोक्ने गरेको स्थानीयबासीले आरोप लगाएका छन्।

एम्बुलेन्सको प्रयोग र संचालन केवल मानव स्वास्थ्यसँग जोडिएको विषय भएको भन्दै स्थानीयले लापरबाही नगर्न सचेत गराएका हुन्।

आगामी दिनमा एम्बुलेन्सले बिरामी बाहेक अन्य सामान ढुवानी गरेको पाइएमा सञ्चालन कार्यविधी अनुसार कारवाही गर्ने चेतावनी दिएका छन्। तर, एम्बुलेन्सले विभिन्न सामाग्री बोकेको तस्विर सार्वजनिक भएलगतै गंगादेव गाउँपालिकाले ध्यानाकर्षण भएको बताएको छ।

यस विषयमा एम्बुलेन्स सञ्चालक समितिले चालकसँग स्पष्टीकरण सोधेर वास्तविक जानकारी बाहिर ल्याउने समेत स्पष्ट पारेको छ।