क. मदन भण्डारी बाँचेको भए…….

वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको एउटा ग्रामीण मध्यम वर्गीय परिवारमा जन्मेका क। मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका एकजना चर्चित व्यक्तित्व हुन् । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय तरिकाले जीप दुर्घटनामा उनको आकस्मिक र दुःखद निधन भयो । उनीसँगै सो दुर्घटनामा क। जीवराज आश्रितको पनि दुःखद निधन भएको थियो ।

त्यतिबेला भण्डारी तत्कालीन नेकपा (एमाले) का महासचिव थिए । आश्रितले संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । जीवराज आश्रित एकजना जनप्रेमी र कुशल संगठक हुन् । विशेषतः लुम्बिनी अञ्चलमा मालेको जग निर्माण गर्ने कार्यमा उनको सानो योगदान रहेको थिएन । आज पनि त्यो क्षेत्रका बुढा कम्युनिष्टहरु उनलाई सम्झिरहन्छन् । क। जीवराज आश्रितको प्रश्नमा मलाई कहिलेकाही इतिहासले बडो मजाक पो ग¥यो कि भन्ने लाग्छ । पार्टी जीवनका कष्ट र भूमिकाका हिसावले भण्डारी कुशल वक्ता थिए । आश्रित कुशल संगठक र जनपरिचालक । कर्मका हिसावले आश्रित भण्डारी भन्दा होचा देखिदैनन् ।

मदन र आश्रितको संयुक्त नामाकरणमा केही प्रतीक्षालयहरु बनेका छन् ।  तर धेरै त्यस्ता स्थान, प्रतिष्ठान र संस्थाहरुमा मदन भण्डारीसँगै जीवनराज आश्रितको नाम जोडिएर आएको देखिदैन । क्षमता र योग्यताको प्रश्न एउटा पक्ष होला । एमालेको पार्टी राजनीतिक जीवनमा पनि मदन भण्डारीको विरासतका रुपमा पत्नी भएका नाताले विद्यादेवी भण्डारीले जति स्थान ग्रहण गर्दै गइन् त्यति जीवराज आश्रितको विरासतका रुपमा पत्नी भएका नाताले माया ज्ञवालीले स्थान ग्रहण गर्न पाइनन् वा सकिनन् के भन्ने ? मेरो हृदयमा यस्तो कुरा लाग्दा लाग्दै पनि म आज यो छोटो लेखमा जनताको बहुदलीय जनवादका प्रस्तोता मदन भण्डारी भएको र असार महिना मदन भण्डारीको जन्मको महिना पनि भएको कारणले मेरो कलम त्यतैतिर डो¥याउँदैछु ।

सामाजिक सञ्जालमा समेत विभिन्न पक्षबाट मदन भण्डारीको हत्यारा किन खोजी गरिएन ? भन्ने प्रश्न उठाइएको पाइन्छ तर तदनुरुप जीवराज आश्रितको नाम आउँदैन । घटना, परिवेश र व्यक्तित्व त उस्तै उस्तै हो तर यस्तो किन हुन्छ रु यो प्रश्नप्रति पनि म निरुत्तर छु । तर पनि बहुदलीय जनवाद र मदन भण्डारी आज मेरो दृष्टिमा पर्न गए ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा पैदा भएका विचारहरुको आलोकबाट हेर्दा मदन कुमार भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद कुनै नयाँ वैचारिक आविस्कार होइन ।

माक्र्सवादमा त ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्तलाई मात्र नयाँ खोज र वैचारिक आविस्कार मानिन्छ भने जनताको बहुदलीय जनवाद नयाँ वैचारिक आविस्कार हुने प्रश्न आउँदैन । तर नेपालका कतिपय लेखकहरुले यसलाई नयाँ वैचारिक आविस्कारकै रुपमा परिभाषा गरेको र केही वक्ताहरुले पनि तदनुरुप नै परिभाषा गरेर मन्तव्य प्रकट गरेको देखिन्छ । त्यो एउटा अतिरञ्जना मात्र हो । काव्यलाई जस्तो विचारलाई अतिरञ्जना गर्ने प्रचलनले राष्ट्र, समाज, राजनीति र सो विचार बोक्ने पार्टीका सपनाहरुलाई हित गर्दैन । मूलरुपमा मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवादले माक्र्सको पालादेखि नै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखा पर्दै आएको दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्दछ ।

जनताको बहुदलीय जनवादका जराहरु माक्र्सको पालाका लसालपन्थ द्वितीय अन्तर्राष्ट्रिय कालका केही विचारहरु युगोस्लाभियाका आधुनिक संशोधनवादी धारका नेता मार्शल जोसेफ टिटो, तत्कालीन सोभियत रुसका ख्रुश्चेव ब्रेजनेभ, चीनका ल्यू शाओची र देंग स्याउपिङका विचारहरुसित जोडिन्छन् । मदन भण्डारीले पार्टीमा यो विचार प्रस्तुत गर्दा विश्वमा प्रथम पल्ट समाजवादी सत्ता स्थापना गरेको सोभियत रुस र पूर्वी युरोपमा घोषित प्रतिक्रान्तिका ज्वारहरु उठेका थिए । तर नेपालमा कम्युनिष्टहरुको पक्षमा व्यापक जनमत उर्लिरहेको थियो ।

नेकपा (एमाले) संसदमा प्रमुख प्रतिपक्षका रुपमा स्थापित थियो । यहाँसम्म आउँदा एमालेले माओ विचारधारा र नयाँ जनवादी क्रान्तिको कार्यदिशा परित्याग गरिसकेको थियो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले प्रतिक्रान्तिको डरलाग्दो धक्काको सामना गर्नु परिरहेको एउटा प्रतिकूल परिस्थितिमा पार्टीलाई एउटा शक्तिकै रुपमा जोगाउन मदन भण्डारीले यस्तो विचार ल्याउनु परिस्थितिजन्य विवशता थियो भनेर तर्क गर्ने लेखकहरु पनि छन् । यो भनाइमा पनि त्यति असंगति देखिदैन । समग्रमा जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनमा पैदा भएको ‘शोसल डेमोक्रेटिक भड्काव’ थियो ।

बुर्जुवा संसदीय राजनीतिको प्रतिस्पर्धामा कैयन मुलुकहरुमा ‘शोसल डेमोक्र्याट’हरुले देशभक्ति, जनमुखी र प्रगतिशील भूमिका निर्वाह गरेको देखिन्छ । विशेषतः ल्याटिन अमेरिकी मुलुकका नेताहरु मोशलेस, लुला, चावेज आदिलाई लिन सकिन्छ । तर बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने एमाले शोसल डेमोक्र्याटहरुको जस्तो देशभक्ति, जनमुखी र प्रगतिशील नीति, कार्यक्रम अनि भूमिकामा समेत अडिन सकेन । वि.सं. २०४८ पश्चात संसदीय राजनीतिको सत्ता समीकरण र ध्रुवीकरणको खेलमा प्रवेश गरेपछि नेकपा ९एमाले० क्रमशः परिष्कृत वा नवबुर्जुवा पार्टीमा परिणत भयो । निसन्देह मदन भण्डारी सच्चा देशभक्त, जनतान्त्रिक, जनमुखी र प्रगतिशील भूमिकाका नायक थिए । बाँचुन्जेल मदन भण्डारी उल्लेखित मार्गका अडिग नेताका रुपमा देखिन्थे । मदन भण्डारीको मृत्युपश्चात एमाले विभिन्न अवसरहरुमा सरकारमा बसिरह्यो ।

नेपाली कांग्रेसको पालामा नेपालमा प्रवेश गरेको निजीकरण, नवउदारवाद र भूमण्डलीकरणको अर्थनीतिसित एमाले मात्र होइन वि.सं. २०६३ पश्चात संसदीय सत्ता राजनीतिको खेलमा प्रवेश गरेको माओवादी झन नवधनाढ्य पार्टीका रुपमा परिणत भयो । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार क्षेत्रमा यिनीहरुले हात हाले । ठेक्का पट्टा र गैरसरकारी संस्थाहरुले प्रवाह गरेका साम्राज्यवादी वित्तीय संस्थाका डलरहरुले विशेषत एमालेका नेता तथा उपल्ला कार्यकर्ताहरुको गहना, पोशाक र भातभान्साहरु चल्न थाले । कम्युनिष्ट पार्टीको सरकारले सार्वजनिक गर्ने सरकारको नीति तथा कार्यक्रम र बजेट नै नवउदारवादको लौरो टेकेर आउने ग¥यो । पात्र, प्रवृत्ति आचार, विचार र व्यवहारका हिसावले बुर्जुवा भन्ने पार्टीहरुको भन्दा फरक कुरा केही पनि आएको देखिएन । त्याग, तपस्या र बलिदानको लामो इतिहास बोकेको पार्टी सामान्य एउटा शोसल डेमोक्रयाटको भूमिकामा समेत अडिन सकेन ।

आज केपी ओली नेतृत्वको एमाले शोसल डेमोक्र्याट त धेरै परको कुरा भयो, लोकतान्त्रिक गणतन्त्रका संवैधानिक मूल्य मान्यताहरुलाई समेत नाघ्दै हिडेको छ । जेठ १५ गते सरकारले अध्यादेशमार्फत प्रस्तुत गरेको बजेटले नवउदारवादी आर्थिक स्वरुपलाई जोडले समाउन पुग्यो । धनमुखी आर्थिक व्यवस्थाका पक्षपोषण गरेको बजेटले १६/१७ घण्टा काम गर्ने मजदुरको पसिना पुछ्ने कार्यक्रम ल्याएन । ठेकेदारी प्रथा तथा हायर एण्ड फायरको कम्पनी नीति अन्तर्गत मासिक १३ हजारमा काम गर्ने मजदुरको स्थायी र पेन्सनको कुनै पनि व्यवस्था गरेन ।

कृषि मजदुर तथा साना किसानहरुले भोग्नुपरेका जटिल समस्याका विषयमा बजेटले टाउको दुखाएन । चुरे क्षेत्रलाई दोहन गरेर गिट्टी बालुवा भारततिर निकासी गरेर व्यापार घाटा कम गर्ने भन्ने उदेकलाग्दो नीति बजेट मार्फत सार्वजनिक गरेर सरकार नेपालको प्राकृतिक स्रोत साधनसमेत चुसेर देशलाई मरुभूमिकरणको दिशामा लैजाने घातक मार्गमा हिड्न थालेको छ । प्रधानमन्त्रीले व्यक्त गर्ने विचार र अभिव्यक्तिहरुले अब ओली नेतृत्वको एमाले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र र केन्द्रीकृत राज्य संरचनाको दिशामा जान थालेको प्रतित हुन्छ ।

प्रगतिशील, जनमुखी र वैज्ञानिक चिन्तनको विपक्षमा र अतितमुखी कथित राष्ट्रवादको पक्षमा उभिन थालेको संकेतहरु मिल्न थालेका छन् । आलोचनात्मक विवेकको प्रयोग गर्ने बुद्धिजीवीहरुविरुद्ध तीब्र रोश प्रकट गर्ने प्रधानमन्त्रीको प्रवृत्तिले अधिनायकवादको संकेत देखाएको छ । ओली नेतृत्वको एमालेका नेता प्रधानमन्त्रीका सल्लाहकार र आसेपासेहरुको सत्ता उन्माद देख्दा कम्युनिष्ट पार्टीको व्यानर र झण्डामुनि अचम्मको तमासा देखिन्छ । तिनीहरुसित धन र डनको पर्याप्त धक्कु छ । सरकारको नीति, कार्यक्रम, बजेट आचार विचार र व्यवहारले एमालेको आफ्नै घोषणापत्रको छेउ टुप्पो समाउँदैन ।

यी सम्पूर्ण कुराहरुलाई क। मदन भण्डारीको आदर्श र जनताको बहुदलीय जनवादको जलपले ढाक्ने प्रयत्न गरिएको छ । के जनताको बहुदलीय जनवाद र मदन भण्डारीका सपना यस्तै थिए रु आज मदन भण्डारी बाँचेको भए पनि के एमालेको तस्विर यस्तै नै हुन्थ्यो त ? प्रश्नहरु विचारणीय छन् । आज पनि देशमा मदन भण्डारी सच्चा देशभक्त भएको कारणले हत्या भएको हो भन्ने जबर्जस्त जनमत छ ।

नेकपा (एमाले) को नेतृत्वमा मदन भण्डारी रहँदासम्म एमाले संसदीय विकृति, विसंगति तथा संसदीय सत्ता समीकरण र धु्रवीकरणका फोहोरी खेलहरुमा फसेको थिएन । पञ्चायतकालमा तत्कालीन नेकपा (माले) ले आफ्ना मान्छेहरुलाई जनपक्षीय उम्मेदवारका रुपमा उभ्याएको थियो । तिनीहरुले पनि राष्ट्रिय पञ्चायतमा जनताको आवाजलाई सकेसम्म बुलन्द गरेका थिए । त्यो प्रश्नमा  झलनाथ खनालको नेतृत्वको पनि महत्वपूर्ण योगदान रहेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । हुन त मृत्युपश्चात मान्छेका गुणहरुको मात्र चर्चा हुने एक प्रकारको मानवीय भावना जागृत हुन्छ ।

आज भारतमा कांग्रेस आईको जुन कमजोर अवस्था सिर्जना भएको छ त्यसलाई लिएर आज राजीव गान्धी बाँचेको भए कांग्रेसको यस्तो अवस्था हुने थिएन भन्ने विचारहरु कांग्रेसबृत्तमा पाइन्छन् । तर यति भन्न सकिन्छ मदन भण्डारी बाँचेको भए नेकपा (एमाले)को स्तर शोसल डेमोक्रेटिक स्तर भन्दा तल झर्दैनथ्यो कि भन्ने लाग्छ । इतिहासका निर्माता जनता हुन् तर विचार, चेतना, अडान र दृष्टिकोण भएको नेता र नेतृत्वको सानो भूमिका हुँदैन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस