विश्वभर ८ मार्च अर्थात् २०८१ फागुन २४ गते एक सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भयो । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ दिवस मनाइयो । नेपालमा पनि सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संघ संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाए ।
रोल्पा जिल्लामा पनि यो दिवस विगतको भन्दा अलि बढी ठाउँमा र व्यापक महिलाको उपस्थितिमा मनाएको पाइयो । महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।
सन् १९७५ देखि संयुक्त राष्ट्र संघले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुन थालेको पाइन्छ ।
महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ । यो दिवसको ऐतिहासिकताबाट नै स्पष्ट हुन्छ कि, विभेद र शोषणबाट पिल्सिएका महिलाको मुक्ति र अधिकार स्थापित गर्न यो दिवस मनाइन्छ । नेपालमा पनि पितृसत्तात्मक व्यवस्थाले सदिऔंदेखि महिलालाई दोस्रो दर्जाको रुपमा व्यवहार गर्दै आयो । विभेदमा अभ्यस्त समाजले अहिलेपनि महिलामाथि विभेद, हिंसा र अवमूल्यन गर्दै आएको छ । वर्षेनी महिला हिंसाका घटना बढ्दो छन् । बलात्कारका घटना उस्तै छन् ।
हरेक क्षेत्रमा महिलाको उपस्थितिलाई अझै समाजले स्विकार्न सकेको छैन । समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथी हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने गरेकै छन् । यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ । रोल्पा जस्तो जिल्लाका महिलामा अझै सशक्तीकरण हुन सकिरहेको छैन ।
विगतको युद्धमा महिला छापामार बनेको इतिहास भएपनि समग्रतामा महिलाको सशक्तीकरण रोल्पामा अझै हुन सकेको छैन । यसका लागि स्थानीय सरकार र सरोकारवाला सबैले गम्भिरताका साथ योजना बनाएर काम गर्न आवश्यक देखिन्छ । अन्यथा नारी दिवसको दिन औपचारिकता निभाउन मात्र गरिने कार्यक्रमले महिलाको मुक्ति र अधिकार स्थापित हुन सक्दैन ।
नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको पनि छ ।
हाल संघीय संसदमा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ । तर, सोचनिय विषय ति बढ्दो महिलाको पहुँचमा रोल्पाली महिला परिरहेका छन् त ? प्रश्न गम्भिर छ । दिवसमा यसबारे पनि चर्चा गरौं । अनि दिवसको सार्थकता हुन्छ ।


