सानो हावाहुरी र पानीले पनि बत्ती जाने कहिलेसम्म ?

सानो हावाहुरी आयो कि रोल्पाको बिजुली बत्ती बिग्रन्छ । झ्याप्प बत्ती जान त बेर नै नलाग्ने भएको छ । त्यतिमात्र होइन, सिमसिम पानी आउन थाल्यो फेरी बत्ती जान्छ । कहिलेकाहीँ त त्यत्तिकै बत्ती जान्छ । कारण के हो ? सर्वसाधारणलाई थाहै हुन्न । ठुल्ठूलो हावाहुरी र झरी पर्दाको त बेग्लै कुरा हो । सानो हावाहुरी र छिटफुट पानी पर्दापनि बिजुली बत्तिमा गडबडी आउनु निकै दुःख लाग्दो कुरा हो । लोडसेडिङ झै लाग्ने गरी बत्ती जाँदा उपभोक्ता मर्कामा पर्ने गरेका छन् । बिग्रिरहने बत्तिको न्यूनतम शुल्क तिरिरहनु पर्ने, बत्तिको अनियमिताको क्षतिपुर्ति ग्राहकले नपाउने अवस्था छ । यसले ग्राहकमाथि अन्याय भैरहेको छ । विद्युतसँग जोडिएका सबै काम बत्ती गएपछि प्रभावित हुँदा लेखाजोखा गर्नै नसकिने क्षति हुने गर्दछ ।

छिमेकी जिल्ला प्यूठानको झिमरूक विद्युत पावरहाउसबाट रोल्पामा बिजुली तानिएको थियो । उसबेला झिमरुक लाइनलाई अर्घाखाँची जोडेर रोल्पा र प्यूठान लोडसेडिङ गरिएपछि नागरिकले आन्दोलन गर्दा पावर हाउसमा क्षति पुगेको थियो । पछिल्लो समय रोल्पा केन्द्रीय विद्युत प्रसारण लाइनमा जोडिएको छ । झिमरुसँग जोडिएको बेला लोडसेडिङको सास्ती खेप्नु परेको थियो । केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि र कुलमान घिसिङ विद्युत प्राधिकरणमा आएपछि लोडसेडिङको टन्टा सकिएको थियो । तर, पछिल्लो समय रोल्पामा विद्युत आउने र जानेको कुनै ठेगान छैन । विद्युत प्राधिकरणलाई बत्ती गएपछि सोध्यो भने एउटै बनावटी (रेडिमेड) जवाफ आउँछ, ‘उतै (प्यूठान) तिर समस्या आएको छ । बनाउन गएको छ । आउँछ बत्ती ।’ यस्तो जवाफ पाउने कुराले केही अर्थ राख्दैन । बिजुली बत्ती गएपछि यहीँ जवाफ सुन्नलाई कति पटक फोन गर्नु भन्ने सबैलाई भइसकेको छ ।

नियमित लोडसेडिङ हो भने त्यहीँ भन्नु प¥यो । होइन भने कहाँनेर के कति कारणले बत्ती जाने गरिरहेको छ, त्यसको स्थायी समाधान हुनु प¥यो । रोल्पाको करिव ९० प्रतिशत विद्युतको पहुँचमा पुग्दै गर्दा वृति गइरहने चाला राम्रो होइन । विद्युतसँग जोडेर मानिसको जीवनशैली अघि बढेको छ । एक्कासि बत्ती जाने र आउने गर्नाले विद्युतीय सामग्रीमा समेत क्षति पुग्ने गरेको छ । साना भएपनि विद्युतीय शक्तिबाट चल्ने गरी उद्योग खोलेका छन् । सरकारी तथा गैरसकारी कार्यालयका काम विद्युत मै निर्भर छन् । व्यक्तिगत जीवनशैली समेत विद्युतमा आश्रित छ । बत्ती गएपछि कहिले काही त विग्रिएको ठाउँ समेत पत्ता नलाग्दा घण्टौं समस्यामा पर्नु पर्छ । पुराना विद्युतको पोल र लाईन (तार) जंगल क्षेत्रमा भएकाले समस्या आउने गरेको वताईन्छ । सडकभन्दा टाढा जंगलमा पोल भएकाले विग्रिएको ठाउँ पत्ता लगाउन प्राविधिक टोलीलाई कठिनाई हुने गरेको पनि बुझिन्छ । यसो हो भने अव यसको विकल्प खोज्न सकिदैन ? भूमिगत विद्युत तारको अवधारणा समेत आईसकेको युगमा यस्तो हरीविजोग हुनु राम्रो होइन । सडक आसपास हुँदै पुनः विद्युत लाइन विस्तार गर्न सकिदैन ?

विद्युत जाँदा यहाँका टेलिफोन, इन्टरनेट, रेडियो, पत्रपत्रिका समेत प्रभावित हुन्छन् । इन्टरनेटमा पावर व्याकअप नपुगेर कतिपय कार्यालयका काम प्रभावित हुनेगरेका छन् । सफ्टवेयरबाट काम गर्नुपर्ने कार्यालयमा इन्टरनेट नचल्दा काम ठप्प हुन्छ ।  कहिले विजुली आउला र नेट चल्ला अनि काम बन्ला ? सेवाग्राही मर्कामा पर्छन । कहिलेकाहीँ कुनै लाईनमा भोल्टेज समेत कम हुने समस्या पनि छ । विद्युतमा जेजस्तो समस्या देखिदै आएको छ, यसको स्थायी समाधान तर्पm लाग्नैपर्छ । ग्रामिण क्षेत्रमा विद्युत लाईन विस्तार गर्दा ठेकेदारहरुले गरेका कमीकम्जोरीका कारणपनि पोलहरु ढल्ने र रुख ढलेर तार चुडिने जस्ता समस्या पनि छ । भए गरेका कमी कमजोरीमा आँखा चिम्लिने होइन, समाधानका स्थायी उपाय खोज्नैपर्छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस