खोलामा विषादी र करेन्ट बन्द गर

केही दिन अघि पश्चिमी रोल्पाको एक खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भयो । खोलामा करेन्ट लगाउदा ज्यान गएको यो पछिल्लो घटना हो । यसभन्दा अघिपनि धेरैजनाको करेन्ट लगाउने क्रममा ज्यान गैसकेको छ । रोल्पाको माडी खोला, लुंग्री खोला लगायतका खोलानालामा बेलाबेला माछा मार्नलाई विषादी प्रयोग गर्ने गरिएको छ । यसले जोखिम बढाएको छ । विषादी प्रयोगले जनस्वाथ्यमा मात्र होइन पर्यावरणमा पनि निकै जोखिम बढाउने गरेको छ । करेन्ट लगाउदा मान्छेको ज्यान मात्र गएको छैन । करेन्ट र विषादीको अनाधिकृत प्रयोगले पानीमा रहने माछा सहित क्यौं जलचरको मृत्यु हुने गरेको छ । यसले पर्यावरणीय क्षेत्रमा असर पारिरहेको तर्पm कसैको ध्यान पुग्न सकेको छैन ।

खोलामा विषादी र करेन्ट लगाउने गरिएको तर्फ संकेत गर्दै केही साताअघि लुम्बिनी प्रदेश सांसद दिपेन्द्रकुमार पुनले सार्वजनिक मञ्चबाटै बोले । रोल्पाको नगरपालिकाको प्रशासकीय भवनको उद्घाटनका बेला सांसद पुनले स्थानीय तहहरु ‘मान्छेको मात्र सरकार हुने होईन, माछाको सरकार बन्न जरुरी छ । जीवजन्तु, रुख विरुवाको समेत सरकार बन्न आवश्यक छ ।’ सांसदको मन्तव्यको आसय खोलानालामा विषादी र करेन्ट लगाईरहेको तर्पm स्थानीय तहका सरकारको वेवास्ताप्रति संकेट थियो । हुनपनि यहाँका खोलामा विषादी प्रयोग र करेन्ट लगाउँदा रैथाने माछा सहितका जलप्राणी मासिदै गएका छन् । विगतमा यहाँका खोलामा पर्याप्त मात्रामा माछा हुने गरेका थिए । पछिल्लो समय माछा पाइन छोडेका छन् । यहाँ परम्परागत रुपमा जाल खेल्ने, बल्छी हान्ने, खोला ढल्काउने, ढडिय ठाप्ने, गरिम बनाएर माछा मार्ने चलन थियो । त्यसो गर्दा माछा बाहेक अन्य जलप्राणीलाई असर पर्दैन थियो । साथै माछा पनि सकिदैन थिए । तर, पछिल्लो समय विषादीको प्रयोगले रैथाने माछा लोप हुँदै गएका छन् । चैत बैशाखमा पानी नपर्दा मैन्यारी हुन्थ्यो । पानी माग्ने चलन हो यो । जुन अवसरमा चिउरीको पीना बगाएर माछा मार्ने पनि गरिन्थ्यो । अहिलो त्यो चलनमा पनि कमी हुँदै गएको छ ।

कहिलेकाही मैन्यारीताका पीना बगाउदा माछा नमर्ने पाईएको छ । खोलामा माछा नै नभएपछि यस्तो स्थिती आउनु स्वभाविक हो । हामीले मानिसको अधिकार र जिवन निर्वाहको मात्र चिन्ता गरिरहेको जस्तो भएको छ । जलप्राणीको संरक्षण र प्रवद्र्धनमा चासो र चिन्ता पुगेको छैन । यसले प्राणीजगतको जिवनचक्रमा समेत असर पारिरहेको छ । कानूनी रुपमा खोलामा करेन्ट र विषादी प्रयोग गर्न पाइदैन । तैपनि यस्ता खालका क्रियाकलाप भैरहेका छन् । यसका लागि अव स्थानीय सरकारहरुले विशेष ध्यान दिन जरुरी छ । स्थानीय सरकारहरुले स्पष्ट नीति, कार्यविधि र योजना बनाएर संरक्षण, विकास र प्रवद्र्धन तर्पm अघि बढ्न आवश्यक छ । स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको विशेष ध्यानाकृष्ट हुनुपर्छ । वेवास्ता वा ध्यान पुग्न नसकेर यसो भैरहेको हुनसक्छ । साथै, प्रहरी प्रशासनको पनि उत्तिकै ध्यान जान जरुरी छ । खोलामा विषादी प्रयोग गर्ने र करेन्ट लगाउने उपर कडा निगरानी गर्नसक्नुपर्छ ।

अन्य जिल्लाका कतिपय स्थानीय सरकारले माछा संरक्षण मात्र होइन, खोलामा माछाको संख्या वृद्धिका लागि त्यहीँ प्रजातीको माछाका भुरा खोलामा छाड्ने समेत गरेको पाईन्छ । अव त्यसो गर्ने तर्पm पनि सोच्नु पर्छ । विषादी र करेन्ट लगाउने तर्पm त कडाई गर्नैपर्छ । स्थानीय सरकारहरु गम्भिर बनेर अब आफ्नो पालिक क्षेत्रमा पर्ने खोलामा विषादी प्रयोग र करेन्ट लगाउने प्रवृत्तिको नियन्त्रण गर्न जुट्नै पर्छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस