११जेठ, रोल्पा । दाङबाट रोल्पाको सुलिचौर बजार नजिकै लुंग्रीखोला बगरमा सुन खोज्न आएका केशरबहादुर माझीले यहीँ सिजनमा डेढ तोला सुन फेला पारेका छन् ।
विभिन्न समययता खोलाबाट उनले नौ तोला भन्दा बढी सुन भेटाएको बताउँछन् । खोलामा बालुवा चालेर सुन खोज्नु उनको दिनचर्या नै हो । उनको जीविकोपार्जनको मुख्य माध्यम नै खोलामा सुन खोज्नु हो । वर्षेनी उनले रोल्पा, दाङ लगायतका विभिन्न खोलामा सुन खोज्दै आएका छन् ।
वर्षेनी फागुनदेखि जेठसम्म उनीहरू लुंग्री र आसपासका खोलामा सुन खोज्ने गरेको बताउँछन् । बालुवा चालेर कतिपयले ८–९ तोलासम्म सुन भेटाइसकेको उनीहरूको दावी छ ।
परम्परागत प्रविधिको प्रयोग गरेर सुन खोज्ने गरेकोले कम सुन भेटाएको उनी दावी छ । ‘हामी काठको प्रयोग गरेर बालुवाबाट छानेर सुन खोज्छौ, कतिपयले मेसिनको प्रयोग गरेर पनि खोज्छन् । मेसिनबाट खोज्दा धेरै भेटिने सम्भावना हुन्छ,’ माझीको अनुभव सुनाउँछन् ।
लुंग्री खोलामा बालुवा चालेर सुन खोज्न स्थानीयदेखि बाहिरी जिल्लाबाट समेत मानिसहरू आउने गर्छन् । खोलाका बालुवा चालेर सुन खोज्दै यहाँ आउँनेहरुले सुन भेटाएर राम्रो आम्दानी समेत गरेको सुनाउँछन् । वर्षेनी फागुनदेखि जेठसम्म उनीहरू लुंग्री र आसपासका खोलामा सुन खोज्ने गरेको बताउँछन् । बालुवा चालेर कतिपयले ८–९ तोलासम्म सुन भेटाइसकेको उनीहरूको दावी छ ।
सुनिलस्मृति गाउँपालिकाकी स्थानीय मस्तकुमारी घर्तिमगर लुंग्री खोलामा सुन भएको बताउँछिन् । आफ्नो बाबुहरूले पनि खोलामा सुन खोज्ने गरेको उनी स्मरण गर्छिन् । बाबुहरूले खोजेको देखेर आफुले पनि खोज्न थालेको उनले बताइन् ।
खोलाका भित्री भागहरूमा सुनका कणहरू प्रसस्त मात्रामा रहेको उनको अनुमान छ । बालुवा चालेर जम्मा गरेका सुन स्थानीय बजारमा बिक्री गर्ने गरिन्छ । स्थानीय व्यापारीहरू पनि बालुवा चालेर ल्याइएका सुन राम्रो क्वालिटीकै भएको बताउँछन् ।
स्थानीयका अनुसार परापूर्वकालमा अथाह सुन भएका मानिसले सुनछहरी झरनामा राखेको किंवदन्ती सुनाउँछन् । झरनाको बीचमा सुन राखिएकाले जोकोहीले सहजै रूपमा झिक्न नसकिने बुढापाका बताउँछन् । झरनाको भित्र राखिएका सुन पानीको छालसँगै बाहिर निस्कने गरेको स्थानीयको दावी छ ।
पूर्वी रोल्पाको सुनछहरी झरनामा प्रसस्त मात्रामा सुन भएको अनुमान गरिन्छ । सुनछहरी झरनामा सुनखानी भएकाले झरनाको नाम नै ‘सुनछहरी झरना’ राखिएको बुढापाका बताउँछन् । यो झरना समुन्द्री सतहबाट १ हजार ५ सय ७५ मिटर उचाइमा अवस्थित छ । संघीयतामा मुलुक जाँदा रोल्पाको दश स्थानीय तह बनाइदा झरणाकै नामबाट सुनछहरी गाउँपालिका नामकरण गरिएको छ ।
बर्खाको समयमा पानीको भेलसँगै सुनछहरी झरनाबाट सुनका कणहरू बग्ने आँकलन गरिन्छ । लुंग्री खोलाको किनारमा हिजोआज सुनछहरी झरनाबाट बगेर आएको भन्दै बालुवा चालेर सुन खोज्नेहरूको भिडभाड बढेको छ । सुनछहरी झरना बगेर यसै खोलामा मिसिन आउँछ । तराईमा पुगे पछि लुंग्री खोला राप्ती नदीमा मिसिन्छ ।
रोल्पाका विभिन्न स्थानहरूमा सुनखानी रहेको विभिन्न अध्यनले देखाईसकेको छ । तर, विडम्बनाको कुरा ति खानीको उत्खनन् तर्पm ध्यान पुगेको छैन । खानी उत्खनन्को विषयमा विभिन्न समयमा बहस भएपनि तिनै तहको सरकारले खानी उत्खनन्प्रति चासो देखाएका छैनन् ।


