फिचर

सिलाइकटाइमा महिला आकर्षित

दीपा, सम्झना र सुमित्रा त केही उदाहरणीय पात्र मात्र हुन् । जिल्लाका व्यापारिक केन्द्रमा पछिल्लो समय महिलाहरू आफै उद्यमी बन्ने प्रयास गरेका छन् ।

२३जेठ, रोल्पा । सुनछहरी गाउँपालिका–४ स्युरीकी दीपा पुनमगर उमेरले ३४ वर्षकी भइन् । घरको आर्थिक अवस्थाको कारण धेरै पढ्न नपाएकी उनी अहिले व्यवसायमा तल्लीन छिन् । दीपाले कक्षा ८ सम्म पढिन् । पूर्वी रोल्पाको व्यापारिक केन्द्र रुइनिबाङ बजारमा सिलाइ कटाई व्यवसाय गरेर मनग्य आम्दानी गर्दै आएकी छिन्। 

घरमा बहिनीले सिलाइ कटाईको काम गर्थिन्। तालिम लिएकी बहिनीबाट दिपाले पनि सिलाइकटाइ सम्बन्धी काम सिकेकी हुन्। सिलाइकटाइको केही काम सिकिसके पछि उनले बजार झरेर व्यवसाय गर्ने सोच बनाइन्। र, व्यवसाय सञ्चालन गरेर बसिन्। सुरुमा ८० हजारको लगानीमा कपडा सिलाउने मेसिन र केही कपडा किनेर कोठा भाडामा लिएर पसल सञ्चालन गरेको बताउँछिन् । 

त्यतिबेला उनको पति वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा थिए । व्यवसाय गर्नको लागि  आवश्यक रकमको व्यवस्था गरिदिए। त्यसपछि व्यवसाय सञ्चालन गर्न सुरु गरिन्। ८० हजारको लगानीमा सुरु गरेको उनको व्यवसाय अहिले लाखौँको भएको छ। सिजनमा व्यवसायबाट राम्रो कमाई हुने गरेको उनी बताउँछिन्। ‘महिनामा २०–२५ हजार बराबरको आम्दानी हुने गर्दछ’, दिपा भन्छिन् ‘अहिले मेरो कमाईले घरखर्च र बालबच्चाको पढाईमा सहयोग पुगेको छ, श्रीमानको कमाई बचत भएको छ ।’ खाली बस्नुभन्दा केही गर्नुपर्दछ भन्ने सोच हुनपर्ने उनी बताउँछिन् ।

पाँच वर्ष पहिले बजारमा सिलाइ कटाई तालिम सिकेपछि व्यवसायी बन्न सफल भएकी हुन्  । उनी स्वरोजगार मात्र भएकी छैनन्, केहीलाई रोजगारी समेत दिएकी छन् ।

‘इच्छाशक्ति हुने हो भने काम गर्न सकिन्छ कुनै पनि काम सानो ठुलो केही पनि हुँदैन’, उनी भन्छिन् । उनको पसलमा अहिले केहीले सिलाइ कटाईको काम समेत सिकिरहेका छन् ।

बहिनीको मद्दतले सीप सिकेकी उनी अहिले सिलाइ कटाईको प्रशिक्षक समेत भएकी छिन् । दिपा जस्तै सुनिलस्मृति गाउँपालिका–३ की सम्झना थापा पनि सुलिचौर बजारमा केही वर्ष अघिदेखि सिलाइ कटाई व्यवसाय गर्दै आएकी छिन् ।
घरको कमजोर आर्थिक अवस्थाको कारण धेरै पढ्न नपाएकी उनी अहिले व्यवसायमा लागेर आम्दानी गरिरहेकी छन् । सुलिचौर बजारमा कोठा भाडामा लिएर व्यवसाय सञ्चालन गरेकी छन् । व्यवसायिक रूपमै काम गर्न लागेको पाँच वर्ष भैसक्यो । पहिले पसल गाउँमा थियो ।

गाउँमा सोचेजस्तो आम्दानी नभएपछि बजारमा व्यवस्थित रूपमा पसल सञ्चालन गरेकी हुन् । सिजनमा राम्रै आम्दानी हुने गरेको उनको अनुभव छ । तिज, मेला, महोत्सव र चाडपर्वको वेला व्यवसाय राम्रो हुने गरेको उनी बताउँछिन् ।
त्यस्तै लुङ्ग्री गाउँपालिकाकी सुमित्रा बुढाको पनि सुलिचौरमा सिलाइकटाइ व्यवसाय छ । प्रायः घरको चुलोचौकोमा दैनिकी बिताएकी उनी पनि अहिले व्यवसायमा सन्तुष्ट छिन् । ‘घरमा अवस्था नै त्यस्तै थियो कसैले पढ्न नै पाएनौ त्यसैले रोजगारी पनि पाउने कुरै भएन’ उनले भनिन् ।

पाँच वर्ष पहिले बजारमा सिलाइ कटाई तालिम सिकेपछि व्यवसायी बन्न सफल भएकी हुन्  । उनी स्वरोजगार मात्र भएकी छैनन्, केहीलाई रोजगारी समेत दिएकी छन् । ‘आखिर काम सानो ठुलो के नै हुन्छ र, जे गरे पनि आफ्नो आर्थिक उपार्जन गर्ने हो । मलाई यही व्यवसायबाट सन्तुष्ट छु ।’, सुमित्रा भन्छिन् । स्थानीय सरकारले आफूजस्तै उद्यमी बन्न चाहने महिलालाई तालिम प्रदान गर्नुपर्ने उनको माग छ ।  

दीपा, सम्झना र सुमित्रा त केही उदाहरणीय पात्र मात्र हुन् । जिल्लाका व्यापारिक केन्द्रमा पछिल्लो समय महिलाहरू आफै उद्यमी बन्ने प्रयास गरेका छन् ।घरकै चुलोचौकोमा सिमित रहने महिलाले पछिल्लो समय विभिन्न आयआर्जनको काममा लागेर आम्दानी गर्नुका साथै घरखर्च समेत चलाएका छन् ।

विगतमा सिलाइ कटाई दलित समुदायले मात्र गर्ने पेसाको रुपमा लिने गरिन्थ्यो । उसबेला यो कामप्रति अन्य समुदायको खासै चासो थिएन् । कपडा सिलाउने काम गर्ने व्यक्तिप्रति समाजको नजर नै फरक हुने गर्दथ्यो ।सुरुसुरुमा गाउँका महिलाहरूले पनि यो सीप सिक्न थालेपछि गाउँका अन्य मानिसहरूले दलितले गर्ने काम गरेको भन्दै गिज्याउने गरेको उनीहरू बताउँछन् । तर पछिल्लो समय मानिसको चेतनामा धेरै परिवर्तन भैसकेको छ । यस पेशाप्रति महिलाहरूको आर्कषण बढ्दो क्रममा रहेको छ । 

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस