रोल्पा । जिल्लाका ७३ प्रतिशत नागरिकले दूषित पानी पिउन बाध्य छन् । रोल्पाका दशवटै स्थानीय तहमा स्वास्थ्य कार्यालय रोल्पाले हालै गरेको खानेपानीको परीक्षणले ७३ प्रतिशत नागरिकले दूषित पानी पिउँदै आएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
दुषित पानीले गर्दा झाडापखाला, आउ, हैजा, जस्ता महामारीको प्रकोप फैलन सक्ने सम्भावना देखाएको छ । यहाँका नागरिकले पिउँदै आएको खानेपानीमा दिशामा पाइने ‘इकोलाई’ नामक जीवाणु पाइएको हो ।
स्थानीय तहमा पुगेर २०८२ जेठ देखि असारसम्म परीक्षण गरिएको थियो । स्थानीय तहका करिब २ सय खानेपानीको नमूना परीक्षण गरिएकोमा १ सय ४३ अर्थात ७३ प्रतिशत नमूनामा दिशामा पाइने जीवाणु ‘इकोलाई’ देखा परेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
जिल्लाका प्रत्येक स्थानीय तहमा २०/२० वटा खानेपानीको नमूना परीक्षण गरिएकोमा सुनछहरीमा १५, सुनिलस्मृतिमा १३, लुंग्रीमा १५, रुन्टीगढीमा १६, गंगादेवमा १७, त्रिवेणीमा १५, माडीमा १५, परिवर्तनमा १६, थबाङमा ९ र रोल्पा नगरपालिकामा १५ गरी १ सय ४६ मा ‘इकोलाई’ देखिएको स्वास्थ्य कार्यालय रोल्पाका ल्याब टेक्निसियन अधिकृत जित बहादुर डाँगीले जानकारी दिए ।
स्थानीय तहमा करिब दुई सय खानेपानीको नमूना जाँच गरिएकोमा अधिकांशमा ‘इकोलाई’ पोजेटिभ देखिएको उनले जानकारी दिए । ‘परीक्षण गरिएको नमूनामा दिशामा पाइने किसिमका जीवाणु देखियो’ स्वास्थ्य कार्यालय रोल्पाका ल्याब टेक्निसियन अधिकृत जित बहादुर डाँगीले भने’ यो इकोलाई देखिँदैमा फेरी सबै ‘इकोलाई’ले हामीलाई हानी नोक्सानी नै गर्छ भन्ने होइन् । कुनै प्रकारका इकोलाईले झाडापखाला, बान्ता गराउने लगायत पेट सम्बन्धी समस्या निम्त्याउने खालका हुन्छन्’ ।
‘सबै ‘इकोलाई’ले झाडापखाला लगाउँछ भन्ने हुँदैन, पानीमा दिशा जन्य पदार्थहरू, पशु वा मानवको दिशा मिसिएको हुन सक्छ’,उनले भने ‘हामीसँग रोगसँग लड्न सक्ने क्षमता धेरै पनि हुन्छ त्यसैले हामीले पचाइरहेका छौँ ।’ उनले पानीलाई शुद्धिकरण गरेर वा उमालेर मात्र खान सुझाव दिए । जेठ असार महिनाको समयमा गरिएको परीक्षण भएको कारण इकोलाईको मात्रा अझ कम देखिएको हुनसक्छ ।
बर्खाको समयमा यसको समस्या अझ बढी हुने स्वास्थ्यकर्मी दावी छ ।
पानीका पाइप फुट्ने, मुहान सरसफाइ नगर्ने लगायतको कारण यस्तो समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । पानीको परीक्षण नगरी पिउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ ।
स्वास्थ्य कार्यालयले वर्षाको समय सुरु भएसँगै यसको विभिन्न जीवाणुहरू देखिने सम्भावना भएको भन्दै जुनसुकै पानी पिउनको लागि पनि शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ । मुहान सरसफाइ र शुद्धीकरणबारे जनचेतना फैलाउन आवश्यक छ ।
पानीजन्य रोगहरू नेपालको प्रमुख जनस्वास्थ्य समस्या एवं गम्भिर सरोकारको रुपमा रहेको छ । नेपालमा अझैपनि नागरिकले करिब ८५ प्रतिशत पानी अशुद्ध पिइरहेको बताइन्छ ।
दिगो विकासको लक्ष्यले स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताको साथै यसको दिगो व्यवस्थापनको सुनिश्चितता गर्ने प्रत्याभुत गरेपनि धेरै नागरिक स्वच्छ खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् ।
नेपालमा अझैपनि कतिपय नागरिकहरु कुवाका वा खोल्साको पानी पिउन बाध्य छन् । प्रशोधन विनै पानी पिउने नागरिकको बाध्यताले महामारी निम्त्याउने जोखिम हुन्छ ।
पानीको मुहान वरिपरी जथाभावी दिशापिसाव गर्ने, वर्षाको समयमा बाढीले ल्याएको फोहोर मिसिएर, जनावर तथा पशुपंक्षीहरु पानीको मुहान वरिपरी छाडा छाड्नु वा मरेका जनावर पानीको मुहान नजिक फाल्नु, पानीको मुहान वा वहाव क्षेत्रमा फोहोर थुपार्ने औद्योगिक क्षेत्र वा उद्योग कलकारखाना तथा स्वास्थ्य संस्थाहरुबाट निस्कासित हानीकारक फोहोर सिधै पानीमा मिसाउनु, लगायतको कारण पानी प्रदुषित भई विभिन्न किसिमका महामारीको प्रकोप फैलन सक्ने संभावना रहने स्वास्थ्यकर्मी भनाई छ ।


