भाडाका घरमा राेल्पाका स्थानीय तह 

१८साउन, रोल्पा । स्थानीय तह बनेको लामो समय हुँदा समेत जिल्लाको कतिपय स्थानीय तहहरूले भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । देशमा स्थानीय तह बनेको आठ वर्ष पुग्दा समेत गाउँका सिंहदरबार भनिने स्थानीय सरकारले आफ्नै प्रशासकीय भवन निर्माणको काम सकेका छैनन् ।

लामो समयसम्म पनि भवन नबन्दा सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ । जिल्लाका कतिपय स्थानीय तहले कार्यालय निर्माण गरेर आफ्नै भवनबाट सेवा प्रवाह गरेपनि कतिपय स्थानीय सरकार अझैपनि भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका हुन् ।

रोल्पा नगरपालिकाले गत फाल्गुन महिना देखि आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएको छ । रोल्पा नगरपालिका २ स्थित लिबाङमा सुविधासम्पन्न भवन निर्माण भएसँगै अहिले नगरपालिकाले सो भवनबाट सेवा दिन थालेको छ । कुल १३ करोड ४५ लाख ७० हजार ६ सउ ४८ मा निर्माण गरिएको ५ तले सो भवनमा ७४ वटा सानाठूला कोठाहरू सहित पार्किङको लागि खाली स्थान रहेको छ । सो भवन निर्माणको लागि २०७९ चैत २९ मा टकसार जलजला छयस्वरी जेभीसँगको सम्झौता गरेको थियो, २०८१ फाल्गुन २८ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने मिति भएपनि निर्माण कम्पनीले सम्झौता मिति अगावै भवन निर्माणको काम सकेर हस्तान्तरण समेत गरिसकेको थियो ।

भवन निर्माणसँगै सम्पूर्ण प्रशासनिक सेवाहरू सोही कार्यालयबाट प्रवाह गर्दै आएको नगरपालिकाले जनाएको छ । त्यस्तै सुनिलस्मृति गाउँपालिकाको भवन निर्माणको कामसकिएको छ । प्रशासकीय भवन निर्माणको लागि गाउँपालिकाले २०७८ चैत १० गते पन्थ आकृति जेभी रुपन्देहीसँग सम्झौता गरेको थियो । भवन निर्माणको काम २०८२ असार १५ गतेभित्र सक्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता थियो ।

संघीय सरकारको ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशतको लागतमा उक्त भवन निर्माणको काम भएको हो ।  भवन निर्माणको लागि निर्माण कम्पनीसँग ८ करोड २३ लाख ६४ हजार ३ सय ८९ रुपैयाँमा सम्झौता भएको थियो । गाउँपालिका हाल भाडाको भवनबाट सेवा दिदै आएको छ । गाउँपालिकाले भाडा बापत चालु आवमा वार्षिक १८ लाख ५१ हजार ३ सय भाडा तिर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्षको सुरुदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्ने तयारीमा रहेको जनाएको छ । 

भवन हस्तान्तरण नहुँदा भाडाकै भवनमा

लुंग्री गाउँपालिकाको भवन निर्माणको काम सकिएको लामो समय हुँदा समेत निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण नगर्दा गाउँपालिकाले भाडाकै भवनबाट सेवा प्रवाह गर्दै आएको छ । वर्षौदेखि साँघुरो कोठाबाट सेवा प्रवाह गर्दा समस्या भैरहेको कर्मचारीहरुको गुनासो छ ।

लुंग्री गाउँपालिकाले प्रशासकीय भवन निर्माणको लागि स्मृति विशाल नारायण जेभीसँग २०७९ पुस २० देखि काम सुरु गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले उक्त मितिदेखि दुई वर्षभित्र काम सक्ने गरी सम्झौता गरेको थियो । २०८१ पुस २० मा भवन निर्माण सम्झौताको अन्तिम मिति रहेको थियो । यस पालिकाको प्रशासकीय भवन निर्माणको भौतिक प्रगति ९७ प्रतिशत रहेको छ भने आर्थिक प्रगति ७३ दशमलव २ प्रतिशत रहेको छ ।

संघिय सरकारको ६० प्रतिशत र लुंग्री गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा कुल (भ्याट सहित) ७ करोड ४३ लाख ८४ हजारमा सो भवन निर्माण भएको हो । गाउँपालिकाले भवन निर्माणको लागि स्थानीयहरूबाट दानमा जग्गा प्राप्त गरेपछि काम सुरु गरेको थियो । लुंग्री गाउँपालिकाका इन्जिनियर गगन खड्काका अनुसार प्रशासकीय भवन ४ तलाको रहेको छ । जसमा सभाहल सहित ४८ कोठाहरू रहेका छन् । सो भवनमा अध्यक्षको कार्यकक्ष, उपाध्यक्षको कार्यकक्ष, न्यायिक समितिको इजलास कक्ष, सम्पूर्ण विषयगत शाखाहरूको कक्ष, शौचालय यसमा रहने उनले बताए । भवनको प्राङ्गनमै पार्किङको व्यवस्था साथै भवनमा लिफ्टको समेत व्यवस्था रहेको छ । गाउँपालिकाकाले कार्यालय संचालनका लागि भाडा बाफत मासिक ६० हजार बराबरको रकम बुझाउँदै आएको छ । 

रोल्पा नगरापालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टिगढी गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । सुनिलस्मृति गाउँपालिका र लुंग्री गाउँपालिकाको पनि भवन निर्माण सकिएको छ । गंगादेव गाउँपालिकामा भने गाउँपालिकाको नाम र केन्द्र विवादका कारण प्रशासकीय भवन निर्माणमा ढिला भएको छ । 

गाउँको सिंहदरबारको रुपमा रहेका स्थानीय सरकारले लामो समयसम्म पनि आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्न नसक्नुले दैनिक सेवा प्रवाहमा समस्या हुने गरेको छ । जसले कर्मचारीहरुले पनि साँघुरो कोठाहरुबाट असहज रुपमा सेवा प्रवाह गर्नुपरेको छ, भने सेवाग्राहीले पनि सास्ती खेप्नु परेको छ । स्थानीय तहले लामो समयसम्म पनि भवन निर्माणको काम सम्पन्न गर्न नसक्नुले लाखौ रकम कार्यालय सञ्चालनका लागि भाडाकै रूपमा खर्च भएको छ ।

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस