रोल्पा नगरपालिकाको शिक्षक पदस्थापनाको निर्णय उच्च अदालत तुलसीपुरद्वारा बदर

फाइल तस्विर

२२साउन, रोल्पा । रोल्पा नगरपालिकाले गरेको शिक्षक पदस्थापनाको निर्णय उच्च अदालत तुलसीपुरले बदर गरी दिएको छ। रोल्पा नगरपालिकाको नगर शिक्षा समितिले २०८१ चैत्र ११ गते गरेको शिक्षक पदस्थापनाको निर्णय कानुन विपरीत रहेको ठहर गर्दै उच्च अदालत तुलसीपुरले बदर गरि दिएको हो ।

शिक्षक विष्णुकुमारी डाँगीले शिक्षक सेवा आयोगले निर्धारण गरेको योग्यता क्रमअनुसार आफूले माग गरेको विद्यालयमा पदस्थापना हुनुपर्ने माग गर्दै रिट दायर गरेकी थिइन । अदालतले उक्त रिटमा सुनुवाइ गर्दै निवेदनको माग अनुसार रिट जारी गर्दै नगर शिक्षा समितिले गरेको पदस्थापनाको निर्णय कानुन विपरित भएको ठहर गर्दै बदर गरिदिएको छ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको इजालसलले साउन २१ गते सुनुवाइ गर्दै नगर शिक्षा समितिको २०८१ चैत्र ११ गते निर्णय कानुन विपरीत भएको र उक्त निर्णय तथा सो निर्णय अनुसार भएका गरेका सम्पूर्ण पत्राचार लगायतका काम कारबाही उत्प्रेषणको आदेशले बदर गरेको हो। अदालतले निवेदकले माग गरेको विद्यालयमा पदस्थापना गर्न समेत रोल्पा नगरपालिका र नगर शिक्षा समितिको नाममा परमादेश समेत जारी गरेको छ ।

शिक्षक डाँगी शिक्षक सेवा आयोगले लिएको परीक्षामा योग्यता क्रममा पहिलो नम्बरमा थिइन । उनले तारा मावि बामरुकमा रोजेकी थिइन, तर रोल्पा नगरपालिकाको नगर शिक्षा समितिले उनलाई जेडबाङमा पदस्थापना गरेको थियो । नगर शिक्षा समितिको उक्त निर्णय विरुद्ध डाँगीले २०८१ चैत्र १४ गते उच्च अदालतमा रिट दायर गरेकी थिइन।

शिक्षक डाँगीले नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका रोल्पा नगरपालिका नगरप्रमुख सुरेन्द्र थापा घर्ती, नगर शिक्षक महासंघका अध्यक्ष तथा शिक्षा समितिका सदस्यद्वय खलसिंह बुढामगर र मनकुमारी घर्ती, नगर शिक्षा शाखा अधिकृत कर्णबहादुर पुनमगर, रोल्पा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत टंकबहादुर गिरी, तारा मा.वि.का प्रधानाध्यापक ओविलाल महरा र सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर कवर, शिक्षा विकास तथा समन्वय इकाई रोल्पा लगायतको विरुद्ध रिट दायर गरेकी थिइन ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस