२२भदौ, रोल्पा । सशस्त्र युद्ध सकिएको दुई दशक पुग्न लागेपनि युद्धमा बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक हुन सकेको छैन । आफ्नो बेपत्ता प्रियजन सदस्यको अवस्था हालसम्म अत्तोपत्तो नहुँदा परिवारमा निराशा बढेको छ ।
बेपत्ता पारिएका व्यक्तिका परिवारमा वर्षेनी द्वन्द्वको घाउ बल्झि रहन्छ । घरमा अभाव दुःख हुँदा होस् या खुशीको क्षणमा पनि बेपत्ता सदस्यको याद आइरहने उनीहरु बताउँछन् । बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसमा पनि बेपत्ता नागरिकका आफन्तको निराश अनुहारले कार्यक्रम भावुकतामय हुन्छ । ३० अगस्टमा बेपत्ता नागरिकको सम्झना र बेपत्ता पार्ने विरुद्ध खबरदारी गर्ने दिवस प्रत्येक वर्ष विश्वभर मनाइन्छ ।
रोल्पामा पनि मनाइयो । उक्त दिवसमा सहभागी बेपत्ता नागरिकका परिवारको पीडाले सबैलाई भावुक बनायो । कार्यक्रम चलिरहँदा बेपत्ताका आफन्तमा निराशा झल्किरहेको थियो । ‘युद्धका वेला बेपत्ता अझै फर्किएनन् । छन् या छैनन् बारे कुनै अत्तोपत्तो छैन ।’ बेपत्ता नागरिकका परिवार दुखेसो पोख्छन् ।
दिवसमा सहभागी बेपत्ता नागरिकका परिवारका सदस्यको उहीँ प्रश्न रह्यो, ‘हाम्रा बेपत्ता आफन्त खै ? सास भए भेट्न पाउनु प¥यो, लास भए देखाउनु प¥यो ।’ वर्षौंसम्म पनि बेपत्ता आफन्तको अवस्था सार्वजनिक नहुनुमा उनीहरु दुखित छन् । दिवस मनाइन्छ, भाषण गरिन्छ र ब्यानरहरू टाँसिन्छन् । तर छोरा बेपत्ता भएका आमाका छोरा फर्किने आशा कहिलै पुरा हुन्न ।
ढोकातिरै हुन्छन् आखा, जहाँबाट छोराले ‘छिट्टै फर्कन्छु’ भन्दै निस्किएका थिए । ती श्रीमतीका सपना अझै अधुरै छन्, जसको श्रीमान अन्तिम पटक खेत जोत्न हिँडेका थिए । र, खेतबारीबाटै बेपत्ता पारिए ।
रोल्पा नगरपालिका–६ को कोटगाउँकी विष्णु परियार बेपत्ता पारिएका आफ्ना ससुराको पर्खाइमा छन अझै । त्यो पर्खाइ पुरा हुने वा नहुने टुङ्गो छैन । फर्किने आशामा उनको उमेर ढल्किदै गएको छ, अनुहार चाउरिँदै गएको छ ।
रोल्पा नगरपालिका–१० धवाङकी तुलकुमारी विष्ट भन्छिन्, ‘शान्ति स्थापना भएको वर्षौं भयो । मेरो बेपत्ता श्रीमानको निजो खबर छैन ।’ उनी थप्छिन्, ‘दुःख प¥यो भनेपनि कसैलाई भन्न सकिन्न, साथी जस्तो लाग्ने श्रीमान बेपत्ता छन् ।’
रोल्पा नगरपालिका–८ जंकोटका दलराज सुनार पनि बेपत्ता छोराको पर्खाइमा छन् । उनी भन्छन्, ‘अब त पर्खने मात्र जस्तो लाग्छ । सपना देख्दा पनि झस्किन्छु । बरु हत्या नै भएको हो भनेपनि भनिदिए हुन्थ्यो भन्ने लाग्छ । कम्तीमा ढुक्क त भइन्थ्यौं ।’
परिवर्तन गाउँपालिका राङकोटकी दिलमाया बुढाको कथा पनि उस्तै छ । उनको देवर बेपत्ता छन् । रोल्पा नगरपालिका–८ जंकोटका तेजकुमारी बुढामगरको कथा अझ हृदयविदारक छ । उनी भन्छिन, ‘एउटै भएको भाइ बेपत्ता भएदेखि घरपनि ढल्यो । मेरो माइत जाने बाटो पनि बन्द भयो । चाडपर्वमा गाउँका दिदिबहिनी माइत जान्छन् । म घरमा एक्लै बसेर भाइ सम्झेर रुन्छु ।’
युद्धमा बेपत्ता पारिएका व्यक्तिका यि परिवारका सदस्य प्रतिनिधि मात्र हुन् । क्यौं बेपत्ता नागरिकको आफन्त अन्यौलमै छन् । यो धर्तीमा छन् या छैनन् भन्ने अन्यौलतामा बाँचिरहेका छन् । जो बेपत्ता आफन्तको वास्तविक अवस्था बुझ्ने पर्खाइमै बसिरहेका छन् ।


