राष्ट्रको आत्मा बोकेर
आशाको धरातल टेक्दै
न्याय र परिवर्तनका
सिङ्गो आवाजहरू बुलन्द गर्न
शान्तिपूर्ण सडकमा निस्केका
कलिलो तर निर्भीक मुटुको
प्रत्येक पाइलाहरूमा
निःस्वार्थी सारथि बन्दै
बलियो साथ दिइरहेको बेलामा
निरङ्कुश र तानाशाहले
यथार्थ चपाउँदै र स्वतन्त्रता दबाउँदै
निर्ममता पूर्वक फर्मान गरेपछि
मानवतालाई अपहरण गर्दै
वधकहरुले चलाए, आत्माहीन यन्त्र
तिनै यन्त्रहरु बाट निस्केका
सत्यमाथि अन्धकारको वाणहरुले
जेन जी विचारको निधार छेडेपछि
ढल्यो, सपनाको भौतिक स्वरुप
तर जुरुक्क उठेर उसको विचारले
अहमताको कथालो समात्यो
र खसाल्यो, बादशाहलाई घोडाबाट ।
तर विडम्बना,
मुठभेडको सडक छेउमा
सहयात्री गुमाउँदै
शोकमय मौनताको
ठूलो सन्देश बोकेर
देश नियालिरहेको
उसको त्यो सेतो जुत्ताभरी
रगतले हस्ताक्षर गर्दै
एउटा सन्देश छोड्यो
मुटु जलेका घरहरूमा
नयन भिजेका शहरहरूमा
स्मृतिका चिहानहरुमा
अनि परिवर्तनका विहानहरुमा
सधैँ-सधैँ अमर हुनेछन्
अजर हुनेछन्,
एउटा वीर योद्धा,
र उसको, रक्तरञ्जित जुत्ता !
रोल्पा


