१पुस, रोल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१/८२ मा रोल्पाका स्थानीय तहको ६४ वटा उजुरी परेका छन् । एक नगरपालिका र नौ गाउँपालिका गरी दश स्थानीय तह रहेको रोल्पामा गत आर्थिक वर्ष २०८१/८२ मा सो परिणाममा उजुरी परेको हो । गत आर्थिक वर्षमा सुनिलस्मृति गाउँपालिकाको विरुद्धमा बढी उजुरी परेको देखिएको छ, भने थबाङ गाउँपालिकाको विरुद्धमा उजुरी नै परेको छैन् ।
अघिल्लो आवमा जिल्लाका स्थानीय तहको विरुद्ध ९९ उजुरी परेका थिए । अघिल्लो आवको तुलनामा उजुरी कम परेपनि अन्य वर्षहरूमा वर्षेनी उजुरीको सङ्ख्या बढ्दै गएको देखिन्छ । गत आवमा जिल्लाको सुनिलस्मृति गाउँपालिकाको विरुद्धमा १८ उजुरी परेका छन् । गंगादेव गाउँपालिकाको विरुद्धमा १७, त्रिवेणी गाउँपालिका र लुंग्री गाउँपालिकाको विरुद्धमा ७÷७ उजुरी परेका छन् ।
त्यस्तै रोल्पा नगरपालिकाको विरुद्धमा ६, रुन्टीगढी गाउँपालिकाको विरुद्धमा ४, माडी गाउँपालिकाको विरुद्धमा ३, परिवर्तन र सुनछहरी गाउँपालिकाको विरुद्धमा १/१ वटा उजुरी परेका छन् भने थबाङ गाउँपालिकामा उजुरी नै नपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी कुशल न्यौपानेले जानकारी दिए ।
अख्तियारमा उजुरी परेका मध्ये रोल्पा नगरपालिका, लुंग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, परिवर्तन गाउँपालिका, रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिकाले सबै उजुरीहरुको फस्र्यौट भएको छ भने सुनिलस्मृति, गंगादेव र माडी गाउँपालिकाको १/१ वटा उजुरी मात्र फस्र्यौट हुन बाँकी रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
अख्तियारमा पर्ने अधिकांश उजुरी मध्ये पछिल्लो समय स्थानीय सरकारका उजुरी बढी रहेको पाइएको छ । जसले स्थानीय सरकारमा भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको अनुमान गरिएको छ । सर्वसाधारण नागरिकमा उजुरी कसरी गर्ने भन्ने विषयमा जानकारी नहुँदा उजुरी कम परेको हुनसक्ने बताइन्छ । तर पछिल्लो समय भने समग्रमा उजुरी बढ्दै गएको कार्यालयले जनाएको छ । स्थानीय तहमा विकासका नाममा भएका भ्रष्टाचार तथा आर्थिक अनियमितता सम्बन्धी उजुरी बढी प्राप्त हुने गरेको अख्तियारले जनाएको छ ।
चार वर्षमा २३७ उजुरीः
रोल्पाका स्थानीय तहहरुको विरुद्धमा विगत चार आर्थिक वर्षको अवधिमा २३७ उजुरी परेका छन् । जसमा १८७ उजुरीहरु फस्यौट भएका छन् भने अझै ५१ वटा उजुरी फस्यौट हुन बाँकी रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगञ्जले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ रोल्पका स्थानीय तहको विरुद्धमा २९ वटा उजुरी दर्ता भएका छन् जसमा १९ उजुरी फस्र्यौट भएका छन् ।
आ.व. २०७९’८० मा ४५ उजुरी परेका छन् जसमा २२ फस्र्याैट भएका छन् । आव २०८०÷८१ म ९९ उजुरी परेका छन् जसमा ८४ फस्यौट भएका छन् । आव २०८१÷८२ मा ६४ उजुरी परेका छन् जसमा ६१ उजुरी फस्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख सम्भु प्रसाद रेग्मीले जानकारी दिए ।
स्थानीय तहको विरुद्धमा पर्ने उजुरीहरुमा बजेट तथा कार्यक्रम तर्जमा, सार्वजनिक खरिद र निर्माण, तालिम तथा क्षमता विकास, प्राकृतिक स्रोत र साधनको उपयोग, राजस्व चुहावट, सेवा प्रवाह, अनुदान वितरण कर्मचारी नियुक्ती, आर्थिक सहायता र राहत, सरकारी सवारी साधन दुरुपयोग इन्धन दुरुपयोग लगायतका विषयहरुमा बढी उजुरी पर्ने गरेको कार्यालय प्रमुख रेग्मीले बताए ।


