२४ वैशाख, रोल्पा। नेपाल प्रगतिशील युवा सञ्जाल को आयोजनामा रोल्पाको परिवर्तन गाउँपालिकामा युवा तथा विद्यार्थीहरूका लागि दुई दिने संघीय नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा ६३ जना युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
नेपाल प्रगतिशील युवा सञ्जालका केन्द्रीय अध्यक्ष आकाश ओली को अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले युवाहरूको क्षमता विकास तथा सामाजिक रूपान्तरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै परिवर्तन गाउँपालिकामा पहिलो पटक नमुना संसद कार्यक्रम सञ्चालन हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।
कार्यक्रममा गाउँपालिकाकी पूर्व उपाध्यक्ष हितकुमारी बुढा तथा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक घर्तीमगर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
त्यसैगरी कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा हुरेक रोल्पा का प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । प्रशिक्षण सत्रको सहजीकरण प्रशिक्षकद्वय दुर्बिन वली र इन्द्रबहादुर खत्रीले गरेका थिए ।
नेपाल प्रगतिशील युवा सञ्जालका इन्द्र बहादुर खत्री ले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी युवाहरूले नेपालको संसदीय पद्धति, कानुन निर्माण प्रक्रिया तथा संसदको अधिवेशन आह्वानदेखि अन्त्यसम्मका विषयमा व्यावहारिक ज्ञान हासिल गरेको बताएका छन् ।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष आकाश ओलीले देशका विभिन्न जिल्लामा युवा तथा विद्यार्थी लक्षित संसदीय अभ्यास कार्यक्रम सञ्चालन गर्न सरकार तथा सरोकारवाला निकायले प्राथमिकता दिनुपर्ने बताए ।


