कविता :

आमा र गाउँ

गाउँ छ
आमा छिन्
गाउँ छ र पो आमा छिन्
आमा छिन् र पो गाउँ छ।

छोराहरू चरा बनेर उडेर गए कतै
छोरीहरू हावा बनेर बगेर गए कतै
बुहारीहरू नानीहरूका निधारमा घाम खोज्न भन्दै गए कतै
आमा गाउँमै छिन्
आमा छिन् र पो गाउँ छ।।

हरेक वर्ष छोराले
बाटो पठाइदिन्छन् सहर पुग्न आमालाई
गाउँमुन्तिरको घुम्तीमा आमाले वान्ता गर्छिन्
छोराको सहर पुग्ने बाटो
आमालाई लाग्छ, सहरले उनलाई वान्तैवान्ता दिन्छ।

घरको मूल खाँबो कुप्रिन्छन
र आमाको ढाड बन्छ
घरका भित्ताहरू चर्किन्छन्
र आमाको अनुहार बन्छन्
अगेनाहरू निभ्छन्
र आमाका आँखा बन्छन्
छानाहरू समयका बतासले उखेल्छन्
र आमाका कपाल बन्छन्
भत्कँदै गएका छन् घरका गाराहरू
र आमाको छाती बन्छन्
अझै पनि आमाका खस्रा पैतालाहरू छन्
जसले गाउँदेखि गाउँ पुग्न बाटो बनाइरहन्छन्।

गाउँमा कतै बेवारिस आँखाहरू छन्
आमा ती आँखाहरू टिप्छिन्
र गाउँका अँध्यारा निधारहरू टाँस्छिन्
कतै हिँड्न नसकेका पैतालाहरू छन्
आमा ती पैतालाहरू बटुल्छिन्
र मेटिँदै गएका बाटाहरूमा बिछ्याउँछिन्
कतै कतै आधा बाँचेका हृदयहरू छन्
आमा ती हृदयहरू बटुल्छिन्
र विश्वास भत्कँदै गएका काल्नाहरुमा रोप्छिन्।

कहिलेकाहीँ आमा
बग्दै गएको खोलाको किनारमा बस्छिन्
र खोलाहरूमा
अलिकति आँसु थप्छिन्
अलिकति पुर्खाहरूको पसिना थप्छिन्
बचेखुचेका इतिहास थप्छिन्
र खोलाहरूसँग ‘साइँला बरै’ गीत बनेर बग्छन्।

आमा चलिरहेको हावा
उडिरहेका चराहरूलाई विश्वास गर्छिन्
र उनीहरूसँगै दुःख र सुखका बाद गर्छिन्।

सल्लाका रूखहरूमा उभिन्छिन्
र आफैँ सल्लाका रूख बन्छिन्
र नाचिदिन्छिन् भूमेरे पैसरी।
विसौनीमा वर्षौंदेखि
पर्खिरहेका छन् पुर्खाका सासहरू
आमा ती सासहरू खेर्छिन्
र गाउँका रित्तिँदै गएका फोक्सोहरूमा मिसाउँछिन्।

सुकेका पातजस्तै अलपत्र छन् सहिदका कङ्कालहरू
आमा ती कङ्कालहरू बटुल्छिन्
र खोकिँदै गएका मस्तिष्कहरूमा रोप्छिन्
सुकेका बाबियोझैँ अलपत्र फ्याँकिएका छन्
सहिदका कपालहरू
आमा ती कपालहरू बटुल्छिन्
र रोप्छिन् उजाड टाउकाका पहाडहरूमा।

गाउँमै छन् आमाका सुखका घामहरू
गाउँमै छन् आमाका दुःख छिचोल्ने पहाडहरू
कहिलेकाहीँ आमा रिसाउँछिन्
तर गाली गर्दैनन् बारीमा उम्रिएका वनमाराहरूलाई
बरु सराप्छिन्
वनमारा उमार्ने समयका बदनाम पैतालाहरूलाई।
जन्माउन त आमाले कति जन्माइन् गाउँजस्ता छोराहरू
छोराहरू भने गाउँ भए कि भएनन्
आमाको कोख भने सधैँ गाउँ भइरहने छ।

विश्व रोबोट बनेर दौडिरहेछ अन्तरिक्षमा
आमालाई भने आज पनि चिप्लेकीरा बनिहिँडिरहनु छ।
गाउँमुन्तिर
चौतारीमा बाबा बर बनेर उभिएका छन्
एक दिन त्यसैको सामुन्ने आमालाई पीपल बन्नुछ।
आमा गाउँमै छिन्
आमा छिन् र पो गाउँ छ
गाउँ छ र पो आमा छिन्।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस