देशभरका कुमाल समुदायले चितवनमा मनाए माघे सङ्क्राति

भरतपुर। आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरु चितवनमा भेला भएर माघे सङ्क्राति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यक्रमको शुभारम्भ गर्दै सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताइन् । दाहालले महानगरपालिकाले कुमाल समुदायको संस्कार संस्कृति संरक्षणका लागि सहायोग गर्ने बताएकी छन् । यही पुस २८ गतेबाट सुरु भएको कार्यक्रम आज प्रकृतिको पूजासँगै समापन हुँदैछ ।

कुमाल समुदायले माघे सङ्क्रान्तिलाई माघे सङ्क्राति भन्छन् । आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलोपटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले जानकारी दिए । राप्ती र नारायणी नदीको सङ्गमस्थल गोलाघाटमा बृहत् सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरेर कुमाल समाजको केन्द्रीय समितिले देशभरका कुमाललाई एकै ठाउँमा उभ्याउने प्रयास गरेको उनले बताए।

सांस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रदर्शनको साथै युवा पुस्तालाई पहिचानसम्बन्धी प्रशिक्षण दिइएको छ । मेला परिसरमा कुमाल जातिको पुरानो मौलिक घरसमेत निर्माण गरिएको छ । गोलाघाटको नदीकिनारमा सबैभन्दा आकर्षणको केन्द्र यही घर बनेको छ ।

मेलाका प्रचारप्रसार संयोजक राजन कुमालका अनुसार माघे सङ्क्राति कुमाल समुदायका लागि सबैभन्दा ठूलो पर्व पनि हो । पछिल्लो समय कुमाल जातिको आफ्नै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुँदै गइसकेको हुँदा संरक्षणका लागि नि यस्ता कार्यक्रम आवश्यक पर्न थालेको उनले बताए ।

चितवन जिल्लामा अधिकांश कुमाल बाहिरी जिल्लाबाट बसाइ सरेर आएको हुँदा तीन पुस्ता पहिलेदेखि नै भाषा, संस्कृति लोप भइसकेको उनले बताए ।

कुमाल जातिमा माटोको भाँडा बनाउने परम्परा पनि करिब करिब लोप भइसकेको हुँदा मौलिक सीप संरक्षण र संवद्र्धनका लागि पनि यो मेला विशेष हुने उहाँ बताउनुहुन्छ । कुमाल जातिले माटोको भाँडा बनाउने पेसा अपनाउने कुरा थाह पाए पनि चितवनमा अहिलेसम्म कुनै पनि कुमालले यो काम गरेको पाइएको छैन ।

नेपाल कुमाल समाजले कुमाल समुदायको लागि माघे सङ्क्रान्ति दसैँ, तिहारभन्दा ठूलो पर्व भएको जनाएको छ । यस पर्वका बारेमा सरकारले सम्बोधन गरोस् भनेर भरतपुरमा यो पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । कुमाल समुदाय देशका ७० जिल्लामा बसोबास गर्छन् ।

पछिल्लो जनगणना अनुसार एक लाख २९ हजार सात सय दुई रहेका छन् । यस कार्यक्रममा ७० जिल्लाबाट झण्डै छ हजार कुमाल समुदायका मानिस सहभागी भएका छन् । आज कुमाल समुदायमा बिहानै घरको मुली खोलामा गएर नुहाएपछि घरमा आइ पितृको नाममा पानी चढाए ।

त्यस्तै कुखुरा काटेर चामल र रगतमा मुछेको टिका लगाइएको कुमाल समाज नेपालले जनाएको छ । आज माघे सङ्क्रान्तिको दिन छोरी कुटुम्बलाई घरमा बोलाएर पुजिएको छ भने कुखुरा, सुँगुरको मासु, माछा, सेलरोटी, खुदौरो, भाते जाँड जसता मिठामिठा परिकार तथा प्राकृतिक फल खान दिइएको छ ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस