रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशैभर योजना छनौटको प्रक्रिया थालनी गर्ने भएको छ । योजना छनौट गरी संघीय सरकारलाई सिफारिस गर्न योजना छनौट गर्न लागिएको हो । रास्वपाले योजना छनौटका लागि पार्टीको पालिका, जिल्ला, निर्वाचन क्षेत्र र प्रदेश समितिलाई परिचालन गर्ने भएको छ ।
उपयुक्त योजना छनौटमा रास्वपाको तर्फबाट प्रभावकारी भूमीका निर्वाह गर्न योजना छनौटको प्रक्रिया शुरु गर्न लागिएको रास्वपा लुम्बिनी प्रदेशका सभापति तथा केन्द्रीय सदस्य देवराज पाठकले जानकारी दिए । सभापति पाठकले भने “राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पेश गर्नु पर्ने महत्वपूर्ण योजनाहरु छनौट र सिफारिस गरी सम्बन्धित मन्त्रालयमा पेश गर्न हामीले मातहतका निकायलाई योजना छनौट गर्न भनेका हौं ।”
रास्वपाले संघीय बजेट तथा कार्यक्रममा समावेश गर्नु पर्ने योजनाहरु सुचिकृत गरी रास्वपाबाट निर्वाचित सांसद भएको क्षेत्रमा सांसद मार्फत र अन्यको हकमा जिल्ला संयोजक मार्फत प्रदेश र केन्द्रमा पठाउन अनुरोध गरेको छ ।
रास्वपा रोल्पाले पनि जिल्लामा योजना छनौट तथा सिफारिस गर्न पालिका समितिहरुलाई जिम्मेवारी प्रदान गरेको रास्वपा रोल्पाका जिल्ला संयोजक रमेश थापा क्षेत्रीले बताए ।
यसै बीच रास्वपा रोल्पाको जिल्ला समन्वय समितिको बैठक रुन्टीगढी गाउँपालिकाको होलेरीमा सम्पन्न भएको जिल्ला संयोजक थापा क्षेत्रीले जानकारी दिए । बैठकले जिल्लामा योजना छनौटको प्रक्रियालाई प्रभावकारी बनाउने, पार्टीको संगठन तथा सदस्यता विस्तारलाई तीव्रता प्रदान गर्ने, पार्टी सदस्यहरुका लागि प्रशिक्षण सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको छ ।
होलेरीमा आयोजित बैठकमा रास्वपा निर्वाचन क्षेत्र समितिका पदाधिकारी सदस्य तथा पालिका संयोजकहरुको सहभागिता रहेको थियो । बैठकमा रास्वपा लुम्बिनी प्रदेशका सभापति देवराज पाठक, ¥यापिड एक्सन टिम (¥याट) लुम्बिनी प्रदेशका संयोजक विनय घिमिरे, दाङ जिल्ला २ नम्बर निर्वाचन समिति सभापति असिम भुषालको समेत सहभागिता रहेका थिए।