रोल्पा । नेकपा (एमाले) रोल्पाको सातौँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन आजदेखि लिबाङमा सुरुहुँदै छ ।
जिल्ला अध्यक्षका लागि अमृत बुढामगर, घनश्याम आचार्य, रोशनकुमार वली र लिला आचार्यले इच्छा देखाएका हुन् । अध्यक्षका आकांक्षी अमृत वर्तमान एमाले जिल्ला सचिव हुन् । घनश्याम एमाले लुम्बिनी प्रदेश कमिटीका पूर्वसदस्य हुन ।
रोशनकुमार एमाले गंगादेव गाउँपालिका अध्यक्ष हुन । भने लिला अखिल नेपाल शिक्षक संगठनका पूर्वजिल्ला अध्यक्ष हुन ।
एमाले रोल्पाका कार्यवाहक अध्यक्ष विजयकुमार घर्तीमगरले ‘सकेसम्म सहमतिको प्रयासबाट सर्वसम्मत नेतृत्व चयन हुने बताए। सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट नेतृत्वको टुंगो लाग्ने घर्तीमगरले बताए ।
जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष र एक सचिव र दुई उपसचिवसहित ९० सदस्यीय कार्यसमिति बन्नेछ । अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । छनोट भएका ३ सय ८५ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने घर्तीमगरले जानकारी दिए ।
लिबाङमा आयोजना हुने सातौँ जिल्ला अधिवेशनको पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनका लागि एमाले उपमहासचिव ज्ञवाली, पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याल, एमाले निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलसहितका नेताहरू रोल्पा आएका छन् ।