रोल्पा । नेकपा एमाले रोल्पाको जिल्ला अध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले निर्वाचन कमिटीले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार वर्तमान सचिव अमृतबहादुर बुढा र एमाले लुम्बिनी प्रदेशका पूर्व प्रदेशसदस्य घनश्याम आचार्य बीच प्रतिस्पर्धा हुने भएको हो।
नेपबहादुर वलीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए। तर, पछि उनले फिर्ता लिएका छन् । लिबाङमा एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशन जारी छ । उपाध्यक्ष पदमा ४ जनाले उम्मेदावरी दिएता पनि तीन जनाले फिर्ता लिएका छन्।
हालका उपाध्यक्ष विजयकुमार घर्तीमगरको मात्र उपाध्यक्षमा उम्मेदवारी परेको छ ।
सचिवमा कमल बहादुर बुढाथोकी, ठाकुरप्रसाद वली र नेपबहादुर थापा गरी तीन जनाले उमेदवारी दिएका छन्। उपसचिवमा प्रेमराज बुढा, बमबहादुर पुन र महिला उपसचिवमा कृष्णिकुमारी गौतम, रमिता डाँगी र तारा सेनको उमेदवारी परेको छ।
प्रमुख निर्वाचन अधिकृत बालकृष्ण आचार्यले मतदान ६ बजेदेखि सुरु हुने बताका छन्। मंगलबार एमाले उपमहासचिव प्रदिप ज्ञवालीले सातौँ रोल्पा जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।
जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष र एक सचिव र दुई उपसचिवसहित ९० सदस्यीय कार्यसमिति बन्नेछ । अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । छनोट भएका ३ सय ८५ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने एमाले रोल्पाले जनाएको छ ।