४चैत्र, काठमाडौं । नेकपा (एमाले) माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि ललितपुरमा सुरु हुँदैछ ।
अध्यक्ष केपी ओलीको मनोमानी निर्णयबाट असन्तुष्ट यस समूहले ललितपुरको सानेपामा आज र भोली दुई दिन भेलाको आयोजना गरेको हो ।
सोमवार बानेश्वरमा बसेको यस समूहको केन्द्रीय सदस्य तथा सांसदको बैठकले राष्ट्रिय कार्यकर्ता भेला तय गरेको थियो ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमालेको २८ गतेको बैठक एकपक्षीय रुपमा बसेको र अवैधानिक निर्णय गरेको भन्दै नेपाल समूह रुष्ट बनेको छ ।
सो समूहले मंगलबाट अध्यक्ष केपी शर्मा ओलीद्वारा आयोजित चियापान कार्यक्रम समेत बहिष्कार गरेको थियो ।
आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने भन्दै ओलीले पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास गरिरहेको नेपाल पक्षले बताउँदै आएको छ ।
यसैबीच ओली समूहले यो भेला रोक्न चेतावनी दिँदै आएको छ ।
मंगलबार महासचिव इश्वर पोखरेलले विज्ञप्ति नै जारी गरेर भेला नरोकेको खण्डमा कार्बाही गर्ने धम्की नै दिएका छन् ।