
६चैत्र, रोल्पा ।सुनछहरी गाउँपालिका–७ जेलबाङकी कमला बुढामगर उमेरले ६० वर्ष भइन् । कमलाको जमानामा सूचना वा सन्देश पठाउने वा पाउने माध्यम चिठी र हाँक हाल्ने मात्र थियो । चिठीको भर परेका उनले अचेल सञ्चार माध्यम र प्रविधिको विकास देखेर छक्क छिन् ।
एक ठाउँमा घटेको कुनै पनि घटना अर्को ठाउँमा पुग्न वर्षौ कुर्नुपर्ने त्यतिबेलाको समयलाई स्मरण गर्दापनि कमला अहिले अचम्मित हुन्छिन् । उनी अचेल कानमा मोबाइल तसाएर घर भन्दा टाढा (परदेशमा) रहेको छोरासँग कुराकानी गर्छिन् । जनआकांक्षा संवाददातासँग भेट हुँदा उनको छोरासँग फोनमा दुःख सुखका कुराकानी गरिरहेकी थिइन् ।
मोबाइलले गर्दा प्रदेशमा रहेको छोरासँग सहजै कुराकानी गर्न सहज भएको बताइन् । ‘उबेला चिठीको जमानामा चिठी कुरेर बस्नुपर्ने हुन्थ्यो, ति चिठीहरू घरसम्म आइपुग्दा महिनौ÷वर्षौसम्म लाग्ने गर्दथ्यो ।’, कमलाले भनिन्, ‘त्यतिबेला भन्दा त अहिले कहाँ हो कहाँ सहज भएको छ । उबेला कमाउन प्रदेश गएकाले घरमा कोही कसैलाई केही भएको पनि वर्षौ पछि मात्र थाहा पाउने अवस्था थियो । परदेशिएकाको अवस्था घरपरिवारले थाहा पाउन मुस्किल हुन्थ्यो ।’ प्रदेशमा कमाउन गएकाको सम्झनाले घरदेशमा रहेका परिवारका सदस्यलाई खुब सताउँथ्यो । ‘अर्काको ठाउँमा कसैले मा¥यो कि भन्ने चिन्ताले हामीलाई सँधै सताइरहन्थ्यो ।’, कमलाले विगत स्मरण गरिन् ।
कमाउन गएकाहरू कतिपय उतै अस्ताउँथे । सूचना पाउने माध्यम सहज नहुँदा ति खबरहरू पनि परिवारसम्म आइपुग्न वर्षौं लाग्दथ्यो । निजो खबर ल्याउने मानिसबाट नै हालचाल थाहा पाउनु पर्दथ्यो । कि त चिठी नै कुर्नु पर्दथ्यो । चिठी सूचनाको एउटा मात्र विकल्पको जमानामा भने अहिले आकाशपातालको फेरबदल आएको छ । विश्वमा प्रविधिको विकास क्रम उच्च गतिमा छ । प्रविधिको बढ्दो विकासक्रमसँगै सञ्चारका थुप्रै माध्यमले अचेल मानिसलाई सन्देश र सूचना आदानप्रदान गर्न निकै सहज भएको छ ।
सञ्चारको माध्यम र प्रविधि विकाससँगै थुप्रै विकृति र विसङ्गति समेत भित्रिएको छ । सञ्चारका साधन र प्रविधिको दुरुपयोगका घटना समेत बग्रेल्ती आउन थालेका छन् । विश्वमा भित्रिएका अनेकौँ प्रविधिमध्ये सूचना र सञ्चारको प्रविधि पनि नेपालका लागि एक हो । यो प्रविधिले रोल्पा जस्तो दुर्गम गाउँठाउँमा पनि अचेल मोबाइल, इन्टरनेटको सहायताबाट विभिन्न सामाजिक सञ्जाल प्रयोग बढ्दोछ ।
सञ्चार प्रविधिसँग सुनछहरी गाउँपालिका–७ कै अर्का स्थानीय बुढे बुढा पनि परिचित छन्, अचेल । मोबाइलले गर्दा टाढाटाढा गएका आफन्तसँग कुरा गर्न सहज भएको उनी बताउँछन् । ‘उबेला हामी प्रदेशमा कमाउन जानुपर्ने, घरमा सम्पर्कको माध्यम चिठी मात्र हुन्थ्यो ।’, बुढे भन्छन्, ‘समय बित्दै गएपछि टेलिफोन आयो । अहिले त हातहातमा मोबाइल छ । यसले गर्दा त हाम्रो जीवन धेरै सजिलो बन्यो ।’ कमला र बुढे मात्र होइनन्, अचेल रोल्पाका दूरदराज गाउँका उनीहरु जस्तै धेरैले मोबाइल चलाउँछन् । नयाँ पुस्ता त सामाजिक संजालमा झुम्मिएको छ । इन्टरनेट सुविधाले फेसबुक म्यासेन्जर, इमो, भाइबर, ह्वाटसएप, इन्स्टाग्राम, टिकटक च्याटबाट समेत संसारको जुनसुकै ठाउँ पुगेकासँग कुरा गरिरहेका छन् ।
सञ्चार प्रविधिले गर्दा संसारको जुनकुनै ठाउँको घटना क्षणभरमै मोबाइल हुँदै मानिससम्म पुग्छ । प्रविधिको विकासले अहिले मानिसको जिवनशैली समेत फेरिएको छ । भिडियो कलमा मस्तसँग कुरा गर्न सकिन्छ । यि सबै प्रविधिको विकासक्रमले गर्दा सम्भव भएको हो ।