कोरोना भाइरसको संक्रमण यतिबेला विश्वभरि फैलिरहेको छ। भाइरसको संक्रमण बढेसँगै अस्पतालमा भीड लाग्न थालेको छ।
नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि सामान्य रूघाखोकी लाग्दा वा कोरोनाको शंका लागेर जँचाउन जानेको संख्या बढेको छ। नियमित रूपमा अस्पताल जानुपर्ने बिरामी त छँदै छन्।
अस्पतालमा भीडभाड नहोस् भनेर नेपाल मेडिकल काउन्सिलले पनि अत्यावश्यक परेमात्र अस्पताल आउन अनुरोध गरेको छ।
काउन्सिलले विज्ञप्ति जारी गर्दै सामान्य रूघाखोकीको घरमै बसेर उपचार गर्न र केही समय पछाडि गरे पनि हुने शल्यक्रियालाई समेत स्थिति सामान्य भएपछि मात्रै गर्न सुझाव दिएको छ।
भीडभाड नगर्न, रूघाखोकी लागेका व्यक्तिको नजिक नजान तथा नछोए पनि हुने वस्तु नछुन भन्दै मेडिकल काउन्सिलले अपरिचित र अवाञ्छित व्यक्ति र सामग्रीलाई छोएपछि साबुन पानीले हात धुन आग्रह गरेको छ।
एक सय शैयाभन्दा माथिका अस्पतालले व्यक्तिगत सुरक्षाका उपकरणसहित ज्वरो क्लिनिक सञ्चालन गर्न र अत्यावश्यक नभएका शल्यक्रिया तथा उपचार विधिलाई कम गर्दै उपचार सामग्री प्रकोपका लागि सुरक्षित गर्न मेडिकल काउन्सिलले अस्पताल तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ।
स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउने, अस्पताल तथा उपचार केन्द्रमा अनावश्यक भीड कम गर्न आवश्यक व्यवस्था मिलाउने,ु विज्ञप्तिमा भनिएको छ,ुहालका लागि जनरल हेल्थ क्लिनिक सञ्चालन नगर्ने र अत्यावश्यकबाहेकका दन्त चिकित्सा सेवा सञ्चालन नगर्ने।
त्रिवि शिक्षण अस्पतालले पनि अत्यन्त जरूरी नपरिकन अस्पताल नआउन सर्वसाधारणलाई आग्रह गरेको छ। शिक्षण अस्पतालमा ज्वरो, रूघाखोकी र श्वासप्रश्वासका बिरामीका लागि छुट्टै ज्वरो क्लिनिक सञ्चालन भएको छ।
आकस्मिकबाहेक अन्य शल्यक्रिया बन्द गरिएको अस्पतालले जनाएको छ। त्यस्तै, बिरामीका लागि १ जनाभन्दा बढी कुरूवा नबस्नसमेत अस्पतालले आग्रह गरेको छ।
‘अत्यावश्यक नपरी अस्पताल नआउनुस्’
प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस