
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।
१९ वर्षकी उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेकी थिइन् ।
तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ ।
दोस्रो परीक्षण पनि गरिने
फ्रान्सबाट आएकी कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्। टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो।