उपनिर्वाचनः इलाम–२ मा मतगणना सुरू

१६ वैशाख, काठमाडौं। इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरू भएको छ।

आइतबार बिहान बसेको सर्वदलीय बैठकपछि पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिने छ। मतपरिणाम एक–एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने छ।

उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस