विप्लव नेतृत्वको नेकपा फुट्यो

फाईल फोटो

२१वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विभाजन भएको छ ।

पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।

धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको चितवनमा बुधवार शुरु भएको भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गर्दै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरेको हो ।

केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए ।

राष्ट्रिय भेला सुरु हुने वित्तिकै नेकपाका सल्लाहकार अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ले पार्टीको महासचिवबाट विप्लवलाइ निष्कासित गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्विकृत भएको छ । बैठकमा पार्टीको संयोजकको जिम्मेवारी पाएका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आजै राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस