२४ वैशाख, रोल्पा । रोल्पाका अधिकांश भूभागका वनपाखामा यतिबेला गुराँस फुलेर ढकमक्क भएका छन् । रोल्पाका वनपाखामा फुलेका विभिन्न प्रजातिका लालीगुराँसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल पनि बढेको छ ।
समुद्र सतहदेखि ३ हजार ५ सय २० मिटरको उचाइमा पर्ने थबाङ गाउँपालिकाको उवा क्षेत्रका वनपाखामा विभिन्न प्रजातिका लालीगुराँस फुल्ने गर्दछन् । स्थानीयका अनुसार यहाँ दर्जन भन्दा बढी प्रजातिका गुराँस फुल्ने गर्दछ । थबाङ गाउँपालिकामा पर्ने उवाको बाङखर्क, डाँडाखर्क र रिकुनबाङ साथै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला, धरमपानी, मिरुल लगायतका क्षेत्रमा फुल्ने गुराँस हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चैत देखि फुल्न सुरु गर्ने गुराँस जेठ महिनासम्म रहन्छ ।

यस क्षेत्रमा फुल्ने दर्जनौँ थरीका गुराँसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय रोल्पाको उवा, जलजला लगायतको क्षेत्रमा गुराँस हेर्न रोल्पा, रुकुम, प्यूठान, दाङ लगायतका ठाउँबाट पर्यटकहरू आउन थालेका छन् । पर्यटकहरू वनपाखामा फुलेका गुराँससँग रम्दै फोटो, भिडियो खिच्ने गर्दछन् ।
वनपाखामा फुल्ने गुराँस र गुराँस फुल्ने स्थानबाट देखिने हिमशृङ्खलाको अवलोकन गर्न पर्यटकहरू आउने गरेको स्थानीय मनिष रोका मगरले बताए । विभिन्न थरीका लालिगुराँसको अवलोकन गर्न रोल्पामा पर्यटकको चहलपहल बढेको उनको भनाई छ । ‘नयाँ वर्षको आगमनसँगै वाह्य पर्यटकहरू पनि जिल्ला भित्रिने गरेका छन्,’ उनले भने
उवा क्षेत्रलाई गुराँस पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि प्रचारप्रसारदेखि पर्यटकीय संरचना निर्माण गर्न सुरु गरेको थबाङ गाउँपालिका ४ का वडाध्यक्ष हिक्मत घर्तिमगरले बताए । यहाँ आउने पर्यटकहरूले विभिन्न थरीका गुराँससँगै विभिन्न हिमशृङ्खला, धार्मिक स्थलहरूको अवलोकन गर्न पाउने उनले बताए ।
रोल्पाका विभिन्न भूभागमा गुराँस पाइन्छ । गुराँस फुल्ने यि भूभागहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार लागिपरेका छन् । रोल्पामा करिब ४५ प्रतिशत भूभागमा लालिगुराँस पाइन्छ । लेकाली हावापानी, रमणीय दृश्य अनि वनैभरि फुलेका विभिन्न थरीथरीका गुराँसले यहाँ पुग्ने सबैलाई मनमोहक पार्ने गर्छ ।
उत्कृष्ट सय पर्यटकीय गन्तव्यको सूचीमा पर्ने पर्यटकीय स्थल जलजला आसपासमा पनि गुराँस हेर्न आउनेको घुइँचो छ । जलजलाको दर्शनसँगै गुराँससँग रम्न पर्यटकहरू आउने गरेका हुन् ।



