३१ वैशाख, रोल्पा ।कोरोना त्रासले देश लकडाउनमा गएसँगै करिब १२ हजार बढी रोल्पाली घर आएका छन् । यीमध्ये प्रायः सबै मजदुर हुन् । झोलीझ्याम्टा बोकेर घर फिरेका उनीहरू यतिबेला घर न घाटका भएका छन् । गाउँमा केही इलम गर्न जग्गाजमिन छैन, भएकाहरूको पनि जति मिहिनेत गरे पनि त्यसको उब्जनीले ६ महिना भन्दा बढी खान पुग्दैन । १४ दिन क्वारेन्टाइनमा राखेर किट अभावमा परीक्षणबिना घर पठाइएका उनीहरू बेरोजगार छन् । पाखुरामा मिहिनेत गर्ने शक्ति भएका हजारौं रोल्पाली यतिबेला अवसरको खोजीमा छन् ।

आठ हजार भारत र ४० हजार तेस्रो मुलुकमा रहेका मजदुरबाट मासिक करिब पाँच करोड बढी रेमिट्यान्स भित्रिने रोल्पामा यतिबेला रकम आउन करिब बन्दजस्तै भएको छ । घरमा अन्न छैन, गोजीमा पैसा छैन । आमनागरिकलाई बालबच्चासहितको घर चलाउन मुस्किल छ । अन्य सुविधा भोगभन्दा पनि छाक टार्न बाहिरिएकाहरूको बिचल्ली सुरु भएको हो । स्थानीय भन्छन्, ‘घरमै बसेर अनाज आउँदैन, मिहिनेत गर्नलाई ठाउँ छैन । आफू त सकिएला तर बालबच्चाको मन र पेट भोको छ ।’

जिल्लामा पर्याप्त बेरोजगार जनशक्ति छ तर यहाँ विकासे कार्यालय र स्थानीय सरकारले अधिकतम डोजरको प्रयोग गरिरहेका छन् । गाउँमा रहेका युवाहरू दिनभर डोजरले सडक खनेको हेर्दै दिन कटाउनुपर्ने बाध्यता छ । पूर्वी रोल्पाको लुङग्री गाउँपालिकामा हिजोआज पाँचवटा डोजरले दैनिक काम गरिरहेका छन् । सुनिलस्मृति गाउँपालिकामा पनि चारवटा डोजरले तेल जलाउँदै सडक खनिरहेका छन् । थवाङ गाउँपालिकामा चारवटा, त्रिवेणी गाउँपालिकामा तीनवटा, रुन्टीगढीमा पाँचवटा र रोल्पा नगरिपालिकामा चारवटा डोजरले सडक खनिरहेका छन् । त्यसो त अन्य पालिकामा पनि चार÷पाँचवटा मेसिन चलिरहेका छन् ।

उता, जिल्लामा रहेका ठूला आयोजनाले पनि दैनिक डोजर चलाइरहेका छन् । सडक पूर्वाधार कार्यालय रोल्पाले अहिले पनि दर्जन बढी डोजर चलिरहेको बताएको छ । सहिद मार्गमा चारवटाले काम गरिरहेका छन् भने सातवटा डोजरले लकडाउनका कारण काम गर्न सकेका छैनन् । ती पनि एकदुई दिनमा चल्न सुरु गर्नेछन् । भवन, खानेपानी, सिँचाइ, विद्युत्लगायतका अन्य निकायले पनि ठूलो संख्यामा डोजर नै चलाइरहेका छन् । उनीहरूलाई कमिसनसहितको काम सकाउनुबाहेक अन्य कुरामा ध्यान नै छैन ।

सरकारले निर्माणको काम गर्न लकडाउन अलि खुकुलो बनाएयता रोल्पामा मात्र करिब पाँच दर्जन डोजरले दैनिक काम गरिरहेका छन् । रोजगारीका लागि थातथलो छोडेर बाहिरिनेहरूलाई जिल्लामै पर्याप्त रोजगारी दिन सकिन्छ तर यो विषयमा सबै मौनजस्तै छन् । ‘अझै हजारौं रोल्पाली घर फर्कनेछन् । हाम्रो सरकारी संरचनामा प्लान गरेर कार्यक्रम तय हुँदैन । सरकारले रोजगारीको सिर्जना कहिल्यै गर्ने चासो नै दिएन,’ जलजला बहुमुखी क्याम्पसका उपप्राध्यापक गोकर्ण पुन भन्छन्, ‘अब राज्य संयन्त्रले गाउँमै रोजगारीका लागि योजना बनाउनुपर्छ ।’

यो वर्ष मौसमले पनि साथ दिएको छैन । गहुँ भिœयाउने समयमा पानीले बिगारिदिएको छ । ‘हिजोआजलाई त घरगाउँमा अलि दिन खान पुग्ने अन्न छ । अबको दुई–तीन महिनापछि भोकमरीको संकट आउन सक्छ,’ सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती भन्छन्, ‘सम्भावित समस्याका बारेमा आजै चनाखो बन्नुपर्छ । वर्षात्पछि जिल्लामा खाद्यान्नको ठूलो संकट देखिन सक्छ ।’

पछिल्लो समय ठूलो संख्यामा मजदुरलाई क्वारेन्टाइनमा राखेका स्थानीय सरकार प्रमुखहरू रोजगारी सिर्जना हुने योजना बनाउने बताउँछन् । ‘आउँदा दिनमा स्थानीयलाई रोजगारी दिनेखालका योजना बनाउने सोचमा छौं,’ रुन्टीगढी गाउँपालिकाका प्रमुख बालाराम बुढाले भने, ‘बाहिर गएर मजदुरी गर्नेलाई जिल्लामै अवसर दिनुपर्छ भन्ने सोचमा पुगेका छौं ।’ उनीजस्तै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी र सुनछहारी गाउँपालिकाका प्रमुख आशबहादुर पुन पनि आउँदा दिनमा रोजगारी सिर्जना हुनेखालका योजना बनाइने बताउँछन् ।