रोल्पाका ४९ वडामा रास्वपाको संगठन विस्तार

जेठ १८, रोल्पा,। माओवादी उद्गमस्थलको रुपमा चिनिने रोल्पामा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तारलाई तीव्रता दिएको छ । कुल ७२ वडा रहेको रोल्पामा हाल सम्म रास्वपाले ४९ वडामा आफ्नो संगठन विस्तार गर्न सफल भएको छ ।

हालसम्म तीन वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशन सम्पन्न गर्नका लागि उक्त वडामा पार्टी सदस्य संख्या कम्तिमा २१ जना हुनु पर्दछ । जिल्लाका २३ वडामा पाँच सदस्यीय तदर्थ समिति गठन गरिएको रास्वपा रोल्पाले जनाएको छ । त्यस्तै अन्य २३ वटा वडामा तीन सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

आगामी असोजसम्म जिल्लाका सबै वडाहरुमा संगठन विस्तार गर्ने कार्य योजना पारित गरिएको रास्वपाका जिल्ला संयोजक रमेश थापा क्षेत्रीले जानकारी दिए । “रोल्पामा रास्वपाप्रतिको आकर्षण बढ्दो छ । अनलाईन प्रविधिको प्रयोग गरेर पार्टी सदस्यता लिने क्रम जारी छ ।” जिल्ला संयोजक थापाले भने “स्वदेश तथा विदेशबाट रास्वपाको सदस्यता लिने क्रम पछिल्लो समय बढेर गएको छ । विशेष गरी पार्टीमा युवाप्रतिको आकर्षण बढेको देखिन्छ ।”

रास्वपा रोल्पाको बैठकले जिल्लाका स्थानीय तहहरुले तर्जुमा गर्ने बजेटमा निगरानी गर्ने निर्णय समेत गरेको छ । स्थानीय तहद्धारा सञ्चालन गरिने योजना र बजेटमा रास्वपा रोल्पाले सूक्ष्म अध्ययन गरी जनतालाई सुसूचित गर्ने रास्वपा रोल्पाका जिल्ला सचिव भुपेन्द्रसिह ओलीले बताए । उनले भने “हामी स्थानीय सरकारद्धारा विभिन्न टोल, वडाहरुमा गरिने विकास योजनाहरुको अध्ययन गर्दछौं । जनताको नाममा आएको बजेटमा अनियमितता भएको पाइए त्यसको प्रतिवाद गर्छौ । सामाजिक सञ्जालको माध्यमबाट सचेत पनि गराउँछौं ।”

पार्टीको जनयात्रा, संगठन सवलीकरण र प्रशिक्षण लगायतका कार्यक्रमलाई सफल बनाउन पहल गर्ने निर्णय गरेको जिल्ला सचिव वलीले जानकारी दिए । बैठकले गंगादेव गाउँपालिकाको संयोजकको जिम्मेवारी तिलकराज वलीलाई दिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस