१असार, रोल्पा । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले आदिवासी जनजातिलाई फुटाएर सार्वजनिक गरिएको तथ्यांक सच्याउन सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद घर्तीले सरकारलाई आदिवासी जनजाति फुटाउने गरी राजनीति नगर्न आग्रह गरेकी छन् ।
जनगणना २०७८ को तथ्यांक आदिवासी जनजाति फुटाएर सार्वजनिक गरिएको भन्दै उनले आपत्ति जनाइन्। उनले भनिन्, ‘राष्ट्रिय जनगणना २०७८ को हालै सार्वजनिक भएको तथ्यांकमा सदियौंदेखिका मगर जातिभित्रको पुन, नेवार जातिभित्रको माली, गुरुङ जातिभित्रको घले, राई जातिभित्रको कुलुङ, चाम्लिङ, बान्तवा लगायतलाई छुट्टै जातिका रूपमा वर्गीकरण गरेर आदिवासी जनजातिलाई फुटाएर कमजोर बनाउन खोजेको छ।’
आदिवासी जनजाति आयोग र आदिवासी जनजाति प्रतिष्ठानले पनि विरोध जनाइसकेका छन्। त्यसैले गलत मनसायका साथ सार्वजनिक गरिएको उक्त विवरण तत्काल सच्याउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।’ सांसद घर्तीले भनिन् ।
यस्तै घर्तीले नेपालको आदिवासी जनजाति समुदायको प्रमुख मुद्दा पहिचानको सम्मान भएको पनि बताइन्। साथै उनले आज मगर समुदायले धुमधामसँग मनाइरहेको भूम्या पर्वको अवसरमा शुभकामना व्यक्त गरिन्।


