आज सूर्यग्रहण : ८८ प्रतिशत सूर्य ग्रहणले छेकिने

७असार,काठमाडौँ ।आइतबार बिहान सूर्यग्रहण लाग्दैछ। आज लाग्ने ग्रहणले सूर्यलाई पुरै ढाक्ने भए पनि नेपालबाट भने खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिने छ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्नुलाई सूर्यग्रहण भनिन्छ।
नेपालमा बिहान १०ः५५ देखि सुरु हुने ग्रहण अपराह्न २ः२४ बजे समाप्त हुने छ। मध्याह्न १२ बजेर चार मिनेट जाँदा ग्रहणले सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्। नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ।
ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुनेछ।
आजको सूर्यग्रहण कंगोबाट सुरु भई सुडान, इथियोपिया, यमन, ओमान, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादुन, कुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुनेछ। काठमाडौँबाट भने आजको सूर्यग्रहणलाई खण्डग्रासको रुपमा अवलोकन गर्न सकिने छ।
सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन्। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षित गरी एष्ट्रोनोमिकल क्लबले काठमाडौंको सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको छ। यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्दैछ।

प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस