६असार । काठमाडौँ । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले रोल्पाको रुन्टी र गढीलेक क्षेत्रको समग्र विकासका लागि एकीकृत गुरुयोजना योजना बनाएर पूर्वाधार निर्माण अगाडि बढाउनुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद घर्तीले रुन्टी र गढी क्षेत्रको विकासका लागि आफूले बजेट माग गरेर योजना पेश गरेपनि सरकारले प्राथमिकता नदिएको बताइन्।
‘रुन्टी र गढीलेक क्षेत्रको समग्र विकासका लागि एकीकृत गुरुयोजना योजना निर्माण गरी सडक, धर्मशाला, मन्दिर, यज्ञशाला लगायतको पूर्वाधार निर्माण अगाडि बढाउनु पर्नेछ’, उनले भनिन्, ‘मैले बजेट माग गरेर योजना पेश गरेपनि सरकारले उक्त धार्मिक क्षेत्रलाई प्राथमिकता दिएन।’
पूर्वाधार र प्रचारप्रसारको अभावले पर्यटकहरु रुन्टी र गढीसम्म पुग्न सक्ने अवस्था नरहेकाले त्यस क्षेत्रको पर्यटकीय विकासका लागि सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राख्न माग उनले गरिन्।