रोल्पा अस्पतालमा डाक्टर अभाव

१भदौ, रोल्पा । गाउँसम्मै स्वास्थ्यको पहुँच कागजमा छ । तर डाक्टर हुँदैनन् र बिरामीले उपचार पाउँदैनन् । यो देशैभरको समस्या हो ।

यसैको एउटा उदाहरण रोल्पा जिल्ला अस्पताल बनेको छ । ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको रोल्पा अस्पतालमा एकजना पनि विशेषज्ञ डाक्टर छैनन् ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको सरकारी अस्पताल ५० शय्याको हो । यहाँ ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्टसहित ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर उपचार गराउन जिल्ला अस्पताल पुग्ने बिरामीले समयमा उपचार पाउँदैनन् । अनि सामान्य उपचारका लागि पनि दाङ, बुटवल, नेपालगन्ज र काठमाडौँसम्म धाउनुपर्ने बाध्यता छ ।

प्रेमबहादुर डाँगीले सुत्केरी डेलिभरीका लागि समस्या भएका कारण जिल्ला बाहिर पठाउनु परेको गुनासो गरे । ‘डेलिभरीको लागि समस्या भयो । यहाँबाट बाहिर पठाउनु पर्ने भयो । बिरामीको चाप । थोरै डाक्टर नभ्याउने भए,’ प्रेमबहादुरले भने ।

२०६१ सालमा १५ शय्याबाट सुरु भएको रोल्पा अस्पताललाई २०७७ सालदेखि ५० शय्याको बनाइएको हो । अस्पतालमा हरेक दिन एक सयदेखि २ सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउँछन् । तर अस्पताल निमित्त मेडिकल अधिकृतले कै भरमा चलेको छ ।

कार्यरत ४ जना डाक्टर मध्ये कसैको करार अवधि सकिएको र कोही राजीनामा दिएर निस्केपछि बिरामीको बिचल्ली हुने गरेको छ । दरबन्दी अनुसार डाक्टर नहुँदा जटिल अवस्थाका प्रसूति र शल्यक्रिया सेवासमेत बन्द छ ।

ग्रामीण भेगका अस्पतालहरूमा यस्तो समस्या अरू जिल्लामा पनि छ । तर स्वास्थ्य मन्त्रालयले समस्या समाधान गर्न सकेको छैन ।अस्पतालमा उपलब्ध जनशक्ति बिरामीको चापका आधारमा अपुग भएको विषयमा सरोकारवाला जानकार भए पनि कसैले चासो दिएका छैन ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस