प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वासको मत

६साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।

आइतबारको बैठकमा उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ जनाले मत दिए भने विपक्षमा ७४ जनाले मतदान गरे।

मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। बैठकमा २६३ सांसद उपस्थित रहेको सभामुख देवराज घिमिरले जानकारी दिए।

यससँगै प्रधानमन्त्री ओलीले दुई तिहाइ सांसदको विश्वास जितेका छन्। उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी ९जसपा०का, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए।

त्यसैगरी उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा रहेका थिए।

गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संविधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भएअनुसार विश्वासको मत लिएका हुन्।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस