२३ साउन, रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकाले सुत्केरी महिलालाई घ्यू वितरण गरेको छ । ‘‘ मातृशिशु पोषण कार्यक्रम” अन्तर्गत लुङ्ग्री-५ बडाचौरका सुत्केरी महिलाहरूलाई घ्यू वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
साउन १ गतेदेखि हालसम्म सुत्केरी भएका वडा भित्रका १० जना महिलाहरूलाई बुधबार बडाचौर स्वास्थ्य चौकीमा एक कार्यक्रमको बीच स्थानीय स्तरमा उत्पादित घ्यू प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकीले जानकारी दिए ।
सुत्केरी महिलाहरूलाई प्रति व्यक्ति १ केजीका दरले घ्यू वितरण गरिएको उनले बताए । उनका अनुसार यो कार्यक्रम गाउँपालिकाको सम्पूर्ण वडाहरूमा सञ्चालन हुनेछ ।
स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाहरूका लागि पालिकाले आगामी दिनमा ‘पोसिलो झोला’ कार्यक्रम ल्याउन लागेको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले बताए । उनले भने ‘ पोसिलो झोला’ कार्यक्रममा सुत्केरी महिलालाई आवश्यक पर्ने घ्यू, बेसार, आदि लगायतका वस्तुहरूको समावेश गरी वितरण गर्ने योजना रहेको छ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दीलकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जितबहादुर परियार, वडा नम्बर ५ का वडाध्यक्ष रिखबहादुर रोका लगायतको समेत सहभागिता रहेको थियो ।