भारतबाट सेनाले औषधि नल्याउने

२५ साउन,काठमाडौँ । नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिने भएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ ।

कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने २ करोड २५ लाख रुपैयाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिए ।

उनका अनुसार औषधि खरिद गर्न सेनाले रक्षा हुँदै परराष्ट्र मन्त्रालय मार्फत भारतको विदेश मन्त्रालयलाई पत्राचार गरिएको थियो । त्यसपछि औषधि आपूर्ति गर्न सिफारिस गरिएको बीपीपीआई भन्ने कम्पनीसँग जङ्गी अड्डाको खरिद एकाइले ‘मोड अफ पेमेन्ट’ तथा ‘मोड अफ डिलेभरी’ का लागि पत्र पठाए पनि उक्त कम्पनीबाट मूल्यसूची प्रस्ताव आउन नसकेको प्रवक्ता पौडेलले बताए ।

सिफारिस भएको उक्त कम्पनीले आपूर्ति गर्न सम्झौता नगर्ने, बिना सम्झौताकै औषधि खरिद गर्नुपर्ने, एकैचोटि पूरा भुक्तानी गर्नुपर्ने लगायतका माग राखेकाले खरिद प्रक्रिया अगाडि बढ्न नसक्ने उनले स्पष्ट पारे । कम्पनीसँग औषधि विदेश निर्यात गर्ने प्रमाणपत्र समेत रहेको छैन ।

प्रवक्ता पौडेलले नेपालले खरिद गर्न खोजेका औषधिको निर्यातमा त्यस बेला भारतले रोक लगाएको अवस्था थियो । त्यसपछि निर्वाध रूपमा ती औषधि नेपालमा आयात हुन सुरु भयो । अहिले ती ५३ वटा औषधि नियमित रूपमा नेपालमा आयात भइरहेको छ, कुनै पनि औषधिको आयातमा रोक नलगाइएको जानकारी दिए ।

उनले ती ५३ वटा औषधि नियमित रूपमा नेपालमा आइरहेको र सहज तरिकाले सजिलै चाहिएको परिमाणमा उपलब्ध भइरहेकै हुनाले भारतसँग खरिदको आवश्यकता पनि देखिएन ।

१६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेना मार्फत सरकारदेखि सरकार ९जीटूजी० विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

त्यसपछि सेनाले रक्षा मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र हुँदै भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई औषधि लगायतका स्वास्थ्य सामग्री खरिद गर्न पत्राचार गरेकोमा भारत र चीनले मात्र औषधि खरिद गर्ने प्रतिउत्तर पठाएका थिए । आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस