
२८साउन,काठमाडौँ । कोरोना भाइरसका कारण विकास निर्माणको काम अवरुद्ध छ तर पनि निर्माण सामग्रीको मूल्य भने बढेको छ ।
ढुवानी भाडा बढेका कारण निर्माण सामग्री मात्र नभई हरेक सामग्रीको मूल्य वृद्धि भएको बताइएको छ ।
गत चैतयता ढुवानीमा दोब्बर भाडा वृद्धि भएसँगै निर्माण सामग्रीको भाउ महँगो भएको व्यापारी तथा निर्माण व्यवसायीले बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले पछिल्लो समयमा निर्माण सामग्री खरिद गर्दा सिधै महँगो नभए पनि यसको ढुवानीमा दोब्बर वृद्धि भएका कारण देखाउँदै हरेक निर्माण सामग्रीको मूल्य बढाइएको जानकारी दिए ।
उनले ढुवानीका कारण देखाउँदै प्रत्येक निर्माण सामग्रीको भाउ १० देखि १५ प्रतिशत बढेकाले यसको प्रत्यक्ष असर निर्माण कम्पनीलाई परेको बताए । निर्माण सामग्री बिक्रेता व्यापारी निर्माण सामग्रीको भाउ बढ्नुको अन्य कारण नभएर पछिल्लो समयमा ढुवानीमा दोब्बर वृद्धि हुँदा भएको बताउँछन् । सामान्य अवस्था वा चैतअघि वीरगञ्जबाट काठमाडौँसम्म प्रतिकेजी ढुवानी भाडा दुई रुपैयाँ रहेकोमा अहिले बढेर ४ रुपैयाँ पुगेको बताइएको छ ।
अहिले ढुवानीकर्ताले फर्किंदा रित्तै फर्किनुपर्ने भन्दै आउँदाजाँदाको भाडा जोडेर लिने गरेको र त्यसको असर सामानको भाउमा परेको कलङ्कीका निर्माण सामग्री बिक्रेता वेदबहादुर थापाले बताए । निर्माण व्यवसायी महासङ्घका महासचिव दाहालका अनुसार भूकम्पलगत्तै चरमचुलीमा पुगेको निर्माण सामानको भाउ आर्थिक वर्ष २०७५र७६ र २०७६र७७ मा घटेर सामान्य अवस्थामा आएको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले गरेको देशव्यापी बन्दाबन्दीपछि निर्माण सामग्रीको ढुवानी बढेर भाउ महँगो भएको उनको भनाइ छ ।
महासङ्घका अनुसार निर्माण सामग्रीको भाउ आव २०७३र७४ मा भन्दा आर्थिक वर्ष ३०७४र७५ र २०७५र७६ मा क्रमशः घटेको थियो । आव २०७३र७४ मा प्रतिबोरा सिमेन्ट एक हजार एक सय रुपैयाँ र प्रतिकेजी डन्डी ९० रुपैयाँसम्म पुगेको थियो ।
यस्तै अन्य सामान बालुवा, गिट्टी, इँटा लगायतका निर्माणमा प्रयोग हुने सामानमा पनि पनि त्यही अनुपातमा मूल्य बढेको थियो ।
तर आर्थिक वर्ष २०७५र७६ मा सिमेन्ट प्रतिबोरा ६५० देखि सात सय रुपैयाँ र डन्डी प्रतिकेजी ५८ देखि ६० रुपैयाँसम्ममा किनबेच भएको थियो । आर्थिक वर्ष २०७६र७७ को सुरुतिर श्रमिकको ज्यालाका कारण देखाउँदै उद्योगीले सिमेन्ट प्रतिबोरा नौ सय रुपैयाँ र डन्डी प्रतिकेजी ८०र८२ रुपैयाँसम्म पु र्याए । निर्माण व्यवसायीको विरोधपछि त्यसमा केही घटेको सिमेन्ट र डन्डीको भाउ अहिले पुनः बढेको निर्माण व्यवसायीले बताएका छन् ।
महासङ्घका अनुसार सिमेन्ट प्रतिबोरा ८५० देखि ९ सय रुपैयाँ, डन्डी प्रतिकेजी ८० रुपैयाँ र एक नम्बर इँटा प्रतिहजारको १७ हजार पाँच सयदेखि १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गिट्टी र बालुवा पनि त्यही अनुपातमा बढेको महासङ्घले जनाएको छ ।आजको गोरखापत्र दैनिकबाट