३१साउन, जंकोट । रोल्पा नगरपालिका–८ जंकोटका स्थानीय परम्परागत काठे कोलमा चिउरी पेलेर घ्यू (तेल) निकाल्न व्यस्त छन् ।
घरदेखि केही परको जङ्गल पुगेर गाउँलेले चिउरी सङ्कलन गरेका हुन् । वनपाखाबाट टिपेर ल्याएको चिउरी पेल्न त्यहाँका स्थानीयवासीलाई भ्याइनभ्याइ छ । साउन सुरु भएसँगै गाउँलेले मेहनत गरी सङ्कलन गरेको चिउरी काठको कोलमा पेलेर तेल निकाल्ने चटारोमा देखिन्छन् ।
चिउरीको तेलले तरकारीमा राख्न भुटन र दशैँ, तिहार लगायतका चाडपर्वमा चिल्ले रोटी बनाउन प्रयोग गर्ने गरेको स्थानीय पुनबहादुर डाँगीले बताए । चिउरीको तेल बढी बनाउनेले बिक्री गरेर दुईचार पैसा समेत कमाउ छन । चिउरीको तेलबाट गरिएको आम्दानीले घरखर्चमा पनि सहयोग पुग्ने गरेको उनले बताए ।
रुखबाट ल्याइएको राम्रो चिउरीको फल छ भने सात बोरा चिउरीको फलबाट आठ धार्नी (करिब २२ लिटर) चिउरीको तेल निस्कने गरेको गाउँलेको अनुभव छ । जङ्गलमा चिउरीको ठूलाठूला रूख भएका कारण चिउरी टिप्न गाह्रो गुने गरेको स्थानीयले बताए ।
घरको काम धन्दा सकाएर चिउरी टिप्न गाउँले जङ्गल पुग्छन् । टिपेर घर ल्याएको चिउरीको फललाई राम्ररी धोईपखाली सुकाइन्छ । पेल्नु अघि ढिकीमा कुट्नु पर्छ । कुटेर मसिनो बनाइसकेपछि आगोमा बास्पिकरणबाट पकाइन्छ । र, कोलमा पेलिन्छ ।
चिउरीको फल संकलनदेखि तेल निकाल्दासम्म निकै मेहनत लाग्ने भएकाले कतिपयले चिउरी टिप्न र पेल्न छोडेका छन् । तैपनि चिउरीको तेलमा पकाएका रोटी मीठा र बास्नादार हुने भएकाले जंकोटका अधिकांश मानिसले दशैँ र तिहार लगायतका चाडवाडका लागि चिउरीको तेल पेल्ने गर्दछन् । अन्य समयमा तोरीको तेलले काम चलाए पनि चाडपर्वमा चिउरीको तेल प्रयोग गर्दछन् ।
यहाँका अधिकांश परिवार आफ्नै घरमा प्रयोग गर्ने गरी चिउरीको तेल पेल्ने गरेका छन् भने ठूलो परिवार हुने र मेहनत गर्नेले चिउरीको तेल बेचेर राम्रो आम्दानी समेत गर्दै आएका छन् । पछिल्लो समय बजारमा पाइने अन्य तेलका कारण धेरै मानिसले चिउरीको तेल पेल्न झन्झट मान्ने गर्छन् ।
चिउरी चैत महिनामा फुल्छ । बहुगुणी चिउरीको रसबाट माहुरीले राम्रो मह समेत बनाउँछ । फुटेका ओठ, हात, खुट्टामा चिउरीको तेल लगाउले प्रचलन पनि छ । असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफा गर्ने र सुकाउने गरिन्छ ।
फुर्सदको समय मिलाएर कोलमा तेल पेलिन्छ । तेल पेल्ने आधुनिक कोल नहुँदा स्थानीयवासीले परम्परागत रूपमा बनाएको काठको कोलबाटै चिउरी पेल्दै आएका छन ।