सहिद मार्ग सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको छः प्रधानमन्त्री दाहाल

१२ भदौ, रोल्पा । दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै रुकुमको मैकोट जोड्ने सहिद मार्ग सडकलाई सरकारले प्राथमिकतामा राखेर काम भई रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

मंगलबार संसदमा प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रममा सहभागी हुँदै एमाले सांसद ईश्वरी जीएमले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

घोराही–होलेरी ३१ किलोमिटर सडकको सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। साथै घोराही–होलेरी सडकखण्डमा वैकल्पिक सडक बनाउनका लागि छलफल गर्ने उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राजनैतिक आन्दोलनमा रोल्पा जिल्लाको विशिष्ट र ऐतिहासिक योगदान रहेको बताएका छन्।

उनले इतिहासको हरेक कालखण्डमा रोल्पाली जनताको वीरता र साहसको उच्च प्रशंसा हुने बताए। विकास हुन नसकेको भन्ने सांसद जीएमको प्रश्नमा प्रचण्डले कर्णाली, सुदूरपश्चिम तथा रोल्पाजस्ता जिल्लालाई विशेष प्राथमिकता राखिएको बताए।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस