देशमा अहिले जनताको सरकार छ : वर्षमान

 १६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुनले देशमा अहिले जनताको सरकार रहेको बताएका छन् ।

गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिबार उद्घाटन गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए ।

देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो । सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शद्धीकरणका लागि थालिएको पुनले उल्लेख गरे ।

पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरुमा वैध÷अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी भएको बताए ।

‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध÷अवैध ढंगले कसरी पैसा काउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ । उत्पादन, श्रम वा उद्यम÷व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी मनी) तिर समाज आकर्षित भइरहेको छ । बिचौलिया धन्दा र प्रवत्ति समाजमा हुर्कंदै गएको छ’, उनले भने, ‘पार्टीहरु, राज्य संयन्त्र र समग्र सामजको शुद्धीकरणलाई सरकारले प्राथमितामा राखेर सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छ ।’ पुनले माओवादी भित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने पनि बताए ।

राष्ट्रिय र आत्मनिर्धर पुँजी निर्माण गर्ने राष्ट्र प्रेम तथा देशभक्तिको भावना भएका युवाहरुलाई तयार गर्ने अभियान पनि भएको पुनले बताए ।  राज्यप्रति जनतामा कम हुँदै गएको विश्वास जागृत गरी राज्य मेरो अभिभावक हो भन्ने भावना पैदा नगराएसम्म जनतामा रानजीतिक नेतृत्वले विश्वास आर्जन गर्न कठिन रहेको पुनको स्वीकारोक्ति थियो ।

प्रधानमन्त्री प्रचण्डले आफू र मेरो आफ्नो परिवारका कोही पनि सदस्यले भ्रष्टाचारजन्य काम गरेको भए कठघरामा उभिन तयार छु भन्ने सामान्य विषय नभएको व्याख्या गरे ।  ‘बहालवाला प्रधानमन्त्रीले म र मेरो परिवारका कसैले भ्रष्टाचारजन्य अपराध गरेको देखियो भने पनि कठघरामा उभ्याउनु भनेर अनुसन्धान गर्ने निकायलाई सार्वजनिक रुपमा अपिल गरेर त्यस प्रकारको उच्च नैतिक उचाई प्रदर्शन गर्नु सामान्य कुरा हुन सक्दैन’, पुनले भने । प्रधानमन्त्रीले अभिव्यक्तिले भ्रष्टाचार छानबिन गरिरहेका निकायलाई दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता मिलेको उनले उल्लेख गरे ।

फरक प्रसंगमा पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र सामाजिक न्याय माओवादीको एजेण्डा भए पनि पछि सबै दल सोही एजेण्डामा आएको स्मरण गरे । तर, पछिल्लो समय अभ्यासका क्रममा भएका कमजोरीले ती एजेण्डामाथि प्रश्न उठ्न थालेको स्वीकार गरे । एजेण्डाको बाहकको रुपमा अभ्यासमा भएका कमजोरी सुधार्ने जिम्मेवारी पनि माओवादीले लिने प्रतिबद्धता जनाए ।

‘यी एजेण्डाहरुमाथि उठ्ने प्रश्नहरुको माओवादीले सामना गर्नुपर्छ । संघीयता कार्यान्वयनमा देखिएको विकृति, शासकीय स्वरुपमा देखिएका समस्या, समावेशीतामा देखिएका समस्या समाधान गरेर कसरी वैज्ञानिक बनाउने भन्ने जिम्मेवारी हाम्रो हो । धर्मनिपरेक्षाका नाममा जबर्जस्ती धर्म परिवर्तन गराउने प्रवृत्ति देखिएको छ । ती सबै समस्याको जवाफ हामीले दिनुपर्छ ।’ पुनले धर्म निरपक्षताको अर्थ राज्यको कुनै धर्म हुँदैन भन्नु रहेको भन्दै व्यक्तिको धर्म, आस्था, संस्कृति र परम्पराको रक्षा राज्यले गनुपर्नेमा जोड दिए ।

नेपालमा वषौंदेखि विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृतिका समुदाय मिलेर बस्दै आएको र त्यो नेपाली समाजको गौरब र महानता भएको व्याख्या गरे । पछिल्लो समय केही दल र धार्मिक समुदायले मिलेर बसेका नेपालीहरुबीच सामाजिक सदभाव खल्बल्याउने प्रयास गरेको र त्यो आफूहरुलाई स्वीकार्य नहुने उनले बताए ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस