
गर्मी तथा वर्षाको मौसममा लामखुट्टेको टोकाइबाट बच्न जरुरी छ । फरक प्रजातिका लामखुट्टेले फरक रोग सार्ने जोखिम रहन्छ । लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगी, ज्वरो, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले, कालाजारजस्ता सरुवा रोग सर्न सक्छ । लामखुट्टेले रोगी मानिसको शरीरबाट ल्याएको कीटाणु स्वस्थ मानिसमा सार्छ ।
लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्ये डेंगी सबैभन्दा घातक हो । एडिस नामक पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । डेंगी भएपछि ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ । यदि डेंगी संक्रमण भए कसरी के गर्ने र बच्ने उपाय लगायतका विषयमा केन्द्रित रहेर स्वाथ्य कार्यालय रोल्पाका प्रमुख विसाल सुवेदीसँग अनलाइन साझाले गरेको संक्षिप्त कुराकानी :
१. डेंगी के हो ? यसका लक्षणहरु कस्तो हुन्छ ?
डेंगी अन्य रोग जस्तै एक मौसमी रोग हो । एडिस एजिप्ताई जातको पोथि लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने रोगलाई डेंगी भनिन्छ । एडिस जातको लामखुट्टे सफा जमेको पानीमा फुल पार्ने गर्दछ । र लामखुट्टेले पारेको फलहरु विकसित भई लार्भा हुँदै संक्रमित रुपमा लामखुट्टेको विकास हुँन्छ । जसले गर्दा संक्रमित अण्डा विकसित भएको लामखुट्टेले मानिसमा सार्ने गर्दछ । मानिसमा डेंगी संक्रमित भएपछि उच्च ज्वरो आउने, आँखाको गेडि दुख्ने, टाउको पछाडिको भाग दुख्ने, रिगाँटा लाग्ने, हाड जोर्नि र मांसपेशीहरु दुख्ने गर्दछ जसलाई यसका प्रमुख लक्षणका रुपमा लिन सकिन्छ । अहिले यो तिब्र रुपमा फैलिरहेकाले हामी सचेत हुन जरुरी छ ।
२. डेंगीबाट कसरी बच्ने ?
डेंगीबाट बच्नका लागि सबै भन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु हो । लामखुट्टेको टोकाईबाट बच्न राती सुत्नेबेला झुलको प्रयोग गर्ने । बाहिर हिड्दा वा भित्र बस्दा पुरा बाहुला भएका लुगा लगाउने पर्छ । लामखुट्टेले खासगरी दिँउसोको समयमा बढी टोक्ने भएकोले खेतबारीमा जाँदा वा काम गर्न जाँदा सतर्कता अपनाउनु पर्छ । विषेश गरी बच्चा, गर्भवती महिला, सुत्केरी महिला, ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति लगायत हामी सबै सर्तक हुनुपर्छ । डेंगी रोग नेपाल भरी फैलि रहेको अवस्थामा छ । अहिलेसम्म हाम्रो जिल्लामा संक्रमण दर कम रहेको देखिन्छ । संक्रमितहरुको र उपचार पनि भई सकेको छ ।
डेंगी एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने रोग होइन । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाईबाट एक व्यक्तिहरुबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ । हामी यसबाट बच्नका लागि घर, आँगन, करेसाबारी, छट, कौँसी लगायत अन्य ठाउँहरुमा पानी जम्न दिनु भएन । जमेको पानीमा यसले फुल पार्छ । त्यसैबाट लामखुट्टेको वृद्धिविकास हुने गर्दछ । पानी जम्न सक्ने टायर, खाल्डाहरु, पानी जम्ने प्लास्तिकहरु, कुलारहरु, ड्रमहरु लगायत सम्पुर्ण पानी जम्न सक्ने भाडाहरु हप्तामा दुई पटकसम्म सफा गरे पनि हामी डेंगी संक्रमण हुनबाट बच्न सक्छौँ ।
३. डेंगीबाट बच्ने कुनै खोपहरु उपलब्ध छ कि छैन् ?
भाईरसबाट हुने भएका यसको औषधी खोप उपलब्ध रहेको अवस्था छैन् । हामिले बिरामीको लक्ष्यणका आधारमा उपचार गछौँ र गर्दै आएका छौँ ।
४. डेंगी संक्रमित भए के गर्ने ?
डेंगी संक्रमित भए घरमा बस्दा प्रशस्त झोलिलोे पदार्थहरु खाने, फलफुल, हरिया सागसब्जी जस्ता पौष्टिक आहारमा ध्यान दिने गर्नु पर्दछ । असारदेखि पुससम्मको अवधि भनेको लामखुट्टेको वृद्धि विकासको समय हो । यो समयमा डेंगी लगायत अन्य किट जन्य रोगको सङ्क्रमन फैलने दर पनि बढि हुन्छ । यस्ता रोगको समयमै लक्ष्यण पत्ता लगाई उपचार गरेमा यो रोग पूर्ण रुपमा निको हुन्छ । समयमै लक्ष्यण पत्ता लगाउन नसकेमा झन घाटक पनि बन्न सक्छ र मृत्यु समेत हुन सक्दछ ।
५. सङ्क्रमण भई हालेमा चेक जाँचका लागि उपकरण वा किटको व्यवस्था कसरी गरी रहनु भयको छ ?
अहिले सम्पूर्ण समुदाय स्थलमा स्वास्थ्य केन्द्र छ । हामीले किट बाहेक अन्य विधिबाट पनि डेंगीको जाँच गर्न सक्छौँ । किट एउटा सरल विधि हो । जसले छोटो समयमा यसको नतिजा हेर्न सकिन्छ । किट नभएको अवस्थामा सेता रक्त कोषको संख्या घटेको छ कि छैन भन्ने कुरा हेर्न सकिन्छ । यी र लगायत अन्य विधिबाट पनि डेंगीको परिक्षण गर्न सकिन्छ । स्वास्थ्य संस्थाहरुमा डेंगीको निशुल्क उपचार हुँन्छ ।
६. अब अर्काे प्रसंग तर्फ जाउँ स्क्रब टाईफसको बारेमा पनि छोटो जानकारी गराइदिनुस्न ?
स्क्रब टाईफस खास गरी कृषि पेशामा काम गर्ने । कृषकहरुमा बढि देखिने गरेको छ । मुसामा लाग्ने किर्ना जस्तो देखिने किराहरुबाट एक व्यक्तिहरुबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । हामिले सामन्य रुपमा हेर्दा यो रोग किर्नाबाट सर्छ भन्ने खालको छ ।
यो पनि एउटा किट जन्य रोग हो । मुसामा हुने किर्नाले मान्छेलाई टोकेपछि संक्रमण हुन्छ । शरीरमा किर्नाले टोक्यो भने रातो हुने । टोकेको ठाउँमा कालो धब्बा बस्ने हुन्छ । यसको लक्ष्यण पनि कतिपय अवस्थामा डेंगीको जस्तै मिल्न जान्छ । यसमा डेंगी भन्दा अझ कडा प्रकारको उच्च ज्वरो आउने अवस्था हुन्छ । झाडापखाला, टाउको दुख्ने र कडा प्रकारको श्वास प्रश्वासमा समस्या आउने हुन्छ । यसको कारणले गर्दा कतिपय अवस्थामा ज्यानै समेत जान सक्ने सम्भावना हुँन्छ । यदि समयमै यो रोग पत्ता लाग्यो स्क्रमब टाईफसको उपचार सहजै हुन्छ । यो रोग सामान्य एन्टिबाइटिक औषधि प्रयोग गरेर पनि निको हुँन्छ । यो रोगबाट बच्न, खेतबारीमा, दाउरा घाँस तथा वनपाखामा जाँदाखेरी पुरा बाहुला भएको लुगा लगाउनु पर्छ ।
घाँसमा हुने किर्ना जस्तोे किटबाट उक्त रोग सर्ने भएकाले आफ्नो आनिवानी परिवर्तन गर्न जरुरी छ । साथै सरसफाईमा ध्यान दिन सक्यो भने स्क्रब टाईफसबाट पनि बच्न सकिन्छ । स्क्रब टाईफस सर्ने समय पनि यहिँ वर्खाको समय भएकाले डेंगीका साथसाथै स्क्रब टाईफस, मलेरीया लगायत लामखुट्टे जन्य अन्य रोगहरुबाट जोगिनको लागि सँधै सजक बनौँ । लामखुट्टेबाट बच्ने उपाय नै उत्तम उपाय हो । उपचारको पहुँचमा नआए यो संक्रमण अलि गाह्र हुनसक्छ । यसले ज्यानैसम्म पनि लिन सक्छ । समयमै यो रोग पत्ता लगाएर उपचार गर्न सके १० देखि १४ दिनसम्म नियमित औषधी सेवन गरे यो निको हुन्छ ।