जलजला क्याम्पस भवन अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न सांसद घर्तीको माग

१९ भदौ, रोल्पा । एमाले सांसद ईश्वरी घर्तीले रोल्पा जिल्लाको सबैभन्दा जेठो क्याम्पस जलजला बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार १५ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेकी छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घर्तीले ०६७ सालमा १८ महिनाभित्र काम सक्नेगरी ठेक्का पाएको दिवा निर्माण सेवा ड्रागन बिल्डर्स ललितपुरले पटकपटक म्याद थपेर १५ वर्षसम्म पनि निर्माण सम्पन्न नगरेको भन्दै कारबाहीका लागि नेपाल सरकारसँग माग गरिन्।

उनले भनिन्, ‘निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न र हस्तान्तरण गर्ने कार्यमा उदासिनता देखाएकाले गम्भीर आपत्ति व्यक्त गर्दै सम्झौता अनुसार निर्माण कार्य तीव्र गतिमा बढाइ हस्तान्तरण गर्ने सुनिश्चितता गर्न र अझै अटेरी गरे कम्पनीलाई कानुनी कारबाही अघि बढाउन सभामुखमार्फत् सरकारसँग घर्तीले माग गरेकी छन् ।

त्यस्तै, उनले पछिल्लो समय ईलाका प्रशासन कार्यालय विस्तारमा सरकारले तीव्रता दिएकोमा खुसी व्यक्त गर्दै ती कार्यालयमा जनशक्ति अभाव हुन नदिन आग्रह गरिन्।

रोल्पाको घर्तीगाउँमा रहेको ईलाका प्रशासन कार्यालयमा प्रमुखको अभावले सेवा प्रवाह बन्द हुँदा सेवाग्राहीले हैरानी ब्यहोर्नु परेकोले दीर्घकालिन समाधान हुने गरी जनशक्तिको तत्काल व्यवस्था गर्न उनले सरकारसँग माग गरिन्।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस