१९ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो ।
रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले मंगलबार बिहान मतदान गराइएको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।
अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार छन् ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली उम्मेदवार छन् । श्रेष्ठ कँडेल पक्षका र बराल रिजाल पक्षका हुन् भने विश्वकर्मा र वलीले प्यानल बाहिरबाट उम्मेदवारी दिएका छन् ।
सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध चुनिएका छन् । उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी) उम्मेदवार छन् ।
त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगर प्रतिस्पर्धामा छन् । चौधरी र राना कंडेल प्यानलका हुन् भने बुढामगर र अधिकारी रिजाल प्यानलका हुन् । २०० जना सदस्यका लागि ३०५ जनाले उम्मेदवारी दिएका छन् ।


