प्रधानमन्त्री दाहालद्वारा पूर्वाधार निर्माण आयोजनामा लगानी गर्न निजी तथा बाह्य लगानीकर्तासमक्ष आह्वान

२१भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको साथ सहयोगसहित वैदेशिक सहयोग वृद्धि गर्दै समावेशिताको अवधारणालाई आत्मसाथ गरी दिगो आर्थिक विकासका पक्षमा सरकार क्रियाशील रहेको बताएका छन् ।

लगानी बोर्ड नेपालको १२औँ वार्षिकोत्सवका अवसरमा मन्तव्य व्यक्त गर्दै देशमा लगानीको उपयुक्त वातावरण बनाउने पक्षमा उच्च प्राथमिकतासहित क्रियाशील रहेको बताए ।

उनले लगानीका दृष्टिले नेपाल विश्वमै उत्कृष्ट स्थान रहेको सन्देश प्रवाह गर्नुपर्ने धारणा व्यक्त गर्दै लगानी बोर्डजस्तो उच्च तहको शक्तिशाली निकायको स्थापना भएपछि पूर्वाधार निर्माणसम्बन्धी आयोजनामा स्वदेशी तथा विदेशी ठूला लगानीकर्ता आकर्षण गर्न सहज भएको बताए।

बोर्डलाई सार्वजनिक तथा निजी साझेदारी एवं लगानी ऐनले परिकल्पना गरेको उल्लेख गर्दै उनले सार्वजनिक तथा निजी साझेदारीको अवधारणा बमोजिम पूर्वाधार प्रवर्द्धन र स्रोत केन्द्रका रूपमा बोर्डले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

प्रधानमन्त्री दाहालले ठूला लगानीका पूर्वाधार आयोजना सञ्चालन तथा सहजीकरण गर्दै आएको बोर्डको आफ्नो अनुभव र मुलुकको आवश्यकतालाई समेत दृष्टिगत गरी आवश्यक व्यवस्थासहित समयानुकूल यसको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीले देशका ठूला पूर्वाधार आयोजाको विकास, निर्माण र व्यवस्थापनका पक्षमा निजी क्षेत्रलाई अझ परिचालित गर्न बोर्डले अझ तदारुकता देखाउने विश्वास व्यक्त गरे ।

सन् २०३० मा मध्यम आय भएको राष्ट्रका रूपमा पुगी दिगो विकास लक्ष्य हासिल गर्ने आकाङ्क्षासहित अघि बढिरहेको हाम्रो देश नेपालका सामु विश्वव्यापीरूपमा फैलिएको कोभिड सङ्क्रमण, द्वन्द्व र वातावरण परिवर्तनका कारण चुनौती थपिएको उनले बताए ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस