सुरक्षा खतराविरुद्ध लड्न आपसी समन्वयमा जोड दिनुपर्छ : प्रधानमन्त्री

तस्विर: रासस

२१ भदौ , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतङ्कवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १०० औँ वार्षिकोत्सव’का अवसरमा आज काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्ता सुरक्षा खतराको पहिचान गर्दै त्यसको सामनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट सामूहिक प्रयासको खाँचो रहेको बताए ।

“यस सन्दर्भमा, म सबै राष्ट्रहरूलाई विश्वव्यापी, क्षेत्रीय र उपक्षेत्रीयस्तरमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दछु”, दाहाले भने, “यी उदीयमान खतराहरूलाई प्रभावकारीरूपमा लड्न हामीले सूचना आदानप्रदानका साथै आपसी समन्वय गरी सामना गर्नुपर्छ ।”

नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताउँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीको सामना गर्न सक्छौँ भन्ने दृढविश्वास रहेको बताए ।

विश्व सुरक्षित र न्यायपूर्ण छ भनेर सुनिश्चित गराउन विभिन्न सङ्घसंस्था र संयन्त्रलाई बलियो बनाउँदै असमानता, गरिबी र अवसरको अभावलगायत अपराधका मूल कारणलाई पनि सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस