३ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।
संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानप्रति सबैको सच्चा सम्मान र समर्पणले नै देशलाई समृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले संविधानका आधारस्तम्भहरू क्रमशः सवल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएकाले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको स्पष्ट गरे ।
“भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन अब हामी सबै थप समर्पणभावका साथ जुट्नुपरेको छ”, कार्यवाहक प्रधानमन्त्री खड्काले भने, “संविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा तथा पछौटेपनबाट मुक्ति दिलाइ समतामूलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो ।”
कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले स्वास्थ्य पूर्वाधार एवं सेवाहरूको विस्तार र सृदृढीकरण गरी महामारी नियन्त्रण तथा विपद् व्यवस्थापन एवं न्यूनीकरण गर्न सक्दो प्रयास गरेको र डेङ्गु रोग फैलन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्यून गर्न आवश्यक तयारी गरिरहेको बताए । बाढी, पहिरोजस्ता विपद्का कारण भएको धनजनको क्षतिमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि प्रदेश र स्थानीय तहसमेतको समन्वयमा काम गरिएको उनले बताए ।