१३ असोज, रोल्पा । विश्व रेबिज दिवसको अवसरमा सुरु भएको साताव्यापी रेबिज विरुद्धको खोप अभियान अन्तर्गत रोल्पामा ३ सय बढी कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको छ ।
भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र रोल्पाले जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरी संचालन गरेको साताव्यापी रेबिज विरुद्धको खोप अभियानमा सामुदायिक र घरपालुवा ३ सय ८३ कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको विज्ञ केन्द्रका सूचना अधिकारी गिरबहादुर घर्तीले जानकारी दिए ।
सामुदायिक कुकुरलाई असोज ६ गते विज्ञ केन्द्रका प्रमुख डा. शंकर न्यौपानेले लिबाङमा रेबिज विरुद्धको खोपलगाई अभियानको सुरु गरेको थिए । भने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य र रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तीले संयुक्त रुपमा व्यानर पढेर अभियानको सुरु गरेका थिए ।
खोप अभियानको सुरु गर्दै डा. न्यौपानेले रेविज रोग, रेविज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाईबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग भएको बताए । रोगका जिवाणुहरु रोगी पशुको ¥यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसँगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छ । उनले भने, रेविज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा पशुले टोकेको शंका लागेमा तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउन सुझाव दिए ।
विज्ञ केन्द्रले विश्व रेबिज दिवसको अवसमा असोज ६ गतेदेखि १२ गतेसम्म कुकुरलाई रेबिज विरुद्धको खोप लगाउनुका साथै विभिन्न शिक्षण संस्थामा अध्ययरत विद्यार्थीहरुलाई रेबिज रोगबारे जानकारी गराउने उदेश्यले अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरेको विज्ञ केन्द्रका प्रमुख डा. न्यौपानेले बताए ।
विज्ञ केन्द्रले जिल्लाका स्थानीय तहहरुमा भेटेरिनरी डाक्टर र प्राविधिकहरु खटाई सामुदायिक र घरपालुवा कुकुरमा खोप लगाएको हो ।
रोल्पा नगरपालिकाका ५७, सुनिलस्मृति गाउँपालिकाका ९० कुकुरमा खोप लगाएको छ ।त्यसैगरी त्रिवेणीका ७३, रुन्टीगढीका ४८, गंगादेवका ५५, माडी र परिवर्तन गाउँपालिकामा क्रमश ३४ र २६ कुकुरमा रेबिज विरुद्धको खोप लगाएको विज्ञ केन्द्रले जनाएको छ ।
जिल्लाको तीन स्थानीय तह थबाङ, सुनछहरी र लुंग्री गाउँपालिकामा भने अविल बर्षाका भई रहेकाकारण खोप लगाउन नसकिएको विज्ञ केन्द्रका सूचना अधिकारी घर्तीले जानकारी दिए । ती स्थानीय तहमा बर्षा रोकिएपछि खोप कार्यक्रम संचालन गरिने उनले बताए ।
रेविजविरुद्व खोपको आविष्कार गर्ने वैज्ञानिक लुईस पाश्चरको सेष्टेम्बर २८ मा निधन भएकोले सोही दिनमा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष विश्व रेबिज दिवसका रुपमा मनाइने गरिएको छ ।