विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
तत्कालीन मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत संविधानसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले भदौ २२ मा कोशीमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएपछि कार्की मुख्यमन्त्री बनेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ सांसद छन् ।
अहिलेसम्मको अवस्थामा कुनै फेरबदल नभए एमालेको पक्षमा ४० सांसद मात्रै देखिएका छन् । यसअघि एमालेलाई साथ दिँदै आएको राप्रपाले यस पटक भने साथ नदिने जनाइसकेको छ । जसका कारण मुख्यमन्त्री कार्कीलाई सरकार जोगाउन मुस्किल पर्ने देखिएको छ ।