
रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा आउने भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले थबाङ खोला पुल र रोल्पा अस्पताल भवन उद्घाटन सँगै पार्टीको जनसभालाई सम्बोधन गर्न रोल्पा आउन लागेका हुन ।
दाहाल आज (शुक्रबार) बिहान काठमाडौँबाट हेलिकप्टर माफर्त ९ बजे थबाङ अवतरण गर्नेछन् । माओवादीको उद्गम थलोको रुपमा चिनिएको थबाङमा दाहालले सहिद मार्ग सडक खण्ड अन्तर्गत थबाङखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताएका छन् । उक्त पुल तीन वर्ष अघि निर्माण सम्पन्न भएको थियो ।
दाहालले थबाङमा पुल उद्घाटनसँगै पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री दाहालले थबाङको कार्यक्रम सकेर दिउँसो १२ बजे रेउघामा रोल्पा अस्पतालको ५० शय्याको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दाहालले अस्पताल भवन उद्घाटन सकेर दिउँसो १ बजे लिबाङमा ‘जनतासँग माओवादी विशेष रूपान्तर अभियान’ अन्तर्गत पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको घिमिरेले बताए ।
प्रधानमन्त्री दाहालसँग माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, पूर्व उपसभामुख ओनसरी घर्ती लगायतका नेताहरू सहभागि हुने माओवादी केन्द्रका जिल्ला संयोजक पूर्ण केसीले बताएका छन् ।